धनगढी उपमहानगरपालिका–१, मनकापुर सुकुम्बासी शिविरकी बासिन्दा ७४ वर्षीया बाजी थारू बिरामी परिरहन्छिन्। उनका श्रीमान धनीराम पनि वृद्ध भए। बाजी बिरामी पर्दा अस्पताल लैजाने र हेरचाह गर्ने काम धानीरामकै हो। छोराहरू शिविरबाहिर बस्छन्। आमाबाबुसँग बस्न मिल्ने गरी जमिन छैन।
बाजी र धनीराम धेरै वर्ष कमैया बसे। मुक्त भएपछि सुकुम्बासी शिविरमा पुगे।२०६४ सालदेखि शिविरमा बस्दै आएका उनीहरूले दुई धुर जति ऐलानी जमिनमा सानो घर बनाएका छन्। जंगल फाडेर बासको व्यवस्था गरेका हुन्।कमाउने सक्रिय उमेरमा कमैया बसे। सरकारले कमैयामुक्ति घोषणा गरेपछि ज्यालामजदुरी गरे।
बुढेसकालमा मजदुरी गर्न छुटेको बाजीको भनाइ छ। अहिले उनीहरूको गर्जो टार्ने उपाय सरकारले दिने वृद्धभत्ता हो। धनीराम भन्छन्, ‘बिमारी भइदियो भने अस्पताल लगिदिने, दबाइ लिन जाने मान्छे छैन। खान त सरकारले दिएकोले पुगेको छ।’ बाजीको छाती दुख्ने समस्या छ। हातगोडा पनि दुख्छन्। चक्कर लाग्छ। बिमारी परिरहन्छिन्। यस्तो बेला सबै काम धनीरामले गर्नुपर्छ।
सेती प्रादेशिक अस्पताल नजिकै छ। नजिकै भएरमात्र के गर्नु पालो पाउन धेरैबेर लाइनमा उभिनु पर्छ। उनीहरू यसो गर्न सक्दैनन्। छिटो हुन निजी अस्पताल जानुपर्छ। धनीरामका अनुसार निजी अस्पतालमा सबभन्दा पहिला पाँच सय रुपैयाँको पुर्जी काट्नुपर्छ। उनीहरूका लागि यो रकम सानो होइन। सरकारबाट पाउने भत्ताले खान पुगे पनि भइपरी आउने खर्च टर्दैन। धनीराम बजार र खोलाकिनार डुलेर प्लास्टिकका बोतल जम्मा गर्छन्।
यसबाट जम्मा भएको पैसाले अस्पताल जान र दबाइ किन्न मद्दत हुन्छ। हालैको कुरा हो, बाजी अस्पताल जानुपर्ने भयो। समस्या उही होस सरकारी अस्पतालमा लामो लाइन, निजीमा पैसा खर्च। धनीराम भन्छन्, ‘अस्पताल भनेरमात्रै हुँदैन। कुन कोठामा, कता जानु पर्छ भन्ने पनि थाहा हुँदैन। एक्लै आउजाउ गर्न पनि अप्ठ्यारो हुन्छ, उपचार गर्न पैसा हुँदैन।’ एक दिन टोलका भलमन्साले आजकाल गाउँमै डाक्टर आएका छन्, वडामै बिरामी जाँँच्छन्, त्यहीँ जानू भने।
भलमन्सा थारू समुदायमा गाउँटोलका नाइके हुन्। क्लिनिक वडा स्वास्थ्य कार्यालयमा लाग्दो रहेछ। क्लिनिकमा स्त्रीरोग र गर्भसम्बन्धी विशेषज्ञ चिकित्सकले परीक्षण गर्छन्। फिजिसियन चिकित्सकले परीक्षण गर्छन्। आँखा परीक्षण पनि हुन्छ। भिडिओ एक्स रे र मुटुको इसिजी पनि हुन्छ। रगतको जाँच पनि हुन्छ। बिरामीले धेरै औषधि निःशुल्क पाउँछन्। भलमन्साले भनेपछि धनीराम र बाजी पनि क्लिनिकमा गए। चाँडै पालो आयो। फिजिसियन डाक्टरले जाँच गरे।
बाजीको रक्तचाप निकै बढेको रहेछ। यसअघि कहिल्यै पनि उनको रक्तचाप नापिएको रहेनछ। डाक्टरले इसिजी गर्न पठाए। रिपोर्ट हेरे। उच्च रक्तचापका कारणले चक्कर लाग्ने र शरीर दुख्ने भएको बताए। औषधि लेखिदिए। खानपिनमा ध्यान दिनुपर्ने कुरा पनि सम्झाए। दुबै जनाले आँखाको परीक्षण पनि गराए।
बाजी र धनीरामले डाक्टरले लेखिदिएका औषधि पैसाबिनै पाए। सबै जाँच सकेर औषधि लिएपछि बाजीले भनिन्, ‘डाक्टरले सबै जाँचेर औषधि दिएका छन्। भिटामिन दिएका छन्। फेरि आउनू भनेका छन्।’ पैसा खर्च नभई सबै जाँच भयो। औषधि पनि मिल्यो। औषधि खाएपछि निको हुन्छ भन्ने उनीहरूको विश्वास छ। अर्कोपल्ट पनि जँचाउन आउने भएका छन्। धनगढी उपमहानगरले वडामा महिनाको एक दिन यस्तो क्लिनिक चलाउन थालेको पाँच महिना भयो। उपमहानगरले यस्तो एक दिने क्लिनिकलाई ‘विशेषज्ञ वडा क्लिनिक’ नाम दिएको छ।
खासगरी उपमहानगरले यस्तो क्लिनिक ग्रामीण क्षेत्रमा चलाउने गरेको छ। क्लिनिकमा ज्येष्ठ नागरिक र उपचारमा खर्च गर्न नसक्नेहरूले प्राथमिकता पाउँछन्। वडावासीहरूले एकदिनकै भए पनि क्लिनिकलाई गाउँमै अस्पताल आएको रूपमा बुझेका छन्। आँखा जँचाउन आएकी विष्णु धामीले जाँच गराउँदा पैसा खर्च नभएको र औषधि पनि पाएको बताइन्। उनले भनिन्, ‘यो शिविर ९क्लिनिक० ले पैसा नहुनेलाई फाइदा भएको छ। अस्पतालमा जस्तो पाँच सयको पर्ची काट्नु पर्दैन।’
वडा नम्बर एककी कलशी आउजीले वडामा लाग्ने क्लिनिकमा दुई पटक आँखा जँचाएर औषधि लिएको बताइन्। उनले भनिन्, ‘दुई पटक जँचाए, औषधि पनि पाएँ। डाक्टरले एउटा आँखाको अप्रेसन गर्नुपर्छ भनेका छन्। पैसा लाग्छ अरे, अहिले पैसा छैन।’ वडा नम्बर दुईकी गुलिया चौधरीले पनि वडाको क्लिनिकमा पैसा नतिरी जँचाउन पाउँदा खुसी लागेको बताइन्।
उनले भनिन्, ‘मैले यही शिविरमा दुई पटक जाँच गराएँ, आँखा पनि जचाएँ। अब अर्को पल्ट शिविर आउँदा पनि जचाउँछु।’ वडा नम्बर दुईको स्वास्थ्य सेवा एकाइकी अहेव ९असिस्टेन्ट हेल्थ वर्कर० जयकला रावलले स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने ग्रामीण बासिन्दाका लागि विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य क्लिनिक सञ्चालन हुने गरेको बताइन्।
उनले भनिन्, ‘स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने र पैसा नभएर रोग पालेर बसेका मान्छेका लागि विशेषज्ञ डाक्टर सहितको क्लिनिक चलाइएको हो। यसबाट धेरैलाई लाभ पुगेको छ।’ उपमहानगरले विशेषज्ञसहितको वडा स्वास्थ्य क्लिनिकलाई ‘आमा बचाउ अभियान’ को अंग पनि मानेको छ। ‘आमा बचाउ अभियान’ ले उपमहानगरका सबै वडाका सुत्केरी र गर्भवतीलाई अस्पताल आउन–जान निःशुल्क सेवा दिन्छ।
‘विशेषज्ञ वडा क्लिनिक’ का संयोजक योगेश अवस्थीका अनुसार क्लिनिकमा निकै जटिल रोगको पनि परीक्षण हुन्छ। क्लिनिकमा अल्ट्रासाउन्ड ९भिडियो एक्स रे०, इसिजी र रगत चेकजाँच सेवा उपलब्ध हुने उनले बताए। जटिल समस्या देखिए उपचारका लागि सल्लाह दिने गरिएको छ। पाँच महिनामा ‘विशेषज्ञ वडा क्लिनिक’ बाट १५ हजार ८५ जनाले सेवा लिएको उपमहानगरको अभिलेख छ। अवस्थीका अनुसार क्लिनिकमा नसर्ने रोग, स्त्रीरोग, आँखा, दाँत र अन्य परीक्षण हुन्छ।
यस्तो क्लिनिक वडाहरूमा पालैपालो गरी एक महिनामा १९ दिन चल्छ। क्लिनिकमा एकजना जनरल फिजिसियन, एकजना गाइनोलोजिस्ट र एक जना हार्डजोर्नी विशेषज्ञ रहन्छन्। आवश्यकता अनुसार कहिलेकाहीँ अन्य चिकित्सक पनि आउँछन्। संयोजक अवस्थीका अनुसार नेपाल सरकारले निःशुल्क दिनेसँगै थप १८ किसिमका औषधि क्लिनिकले दिन्छ। उनले क्लिनिकमा विशेषज्ञ चिकित्सक थप्ने तयारी भइरहेको पनि बताए।
गत वैशाखामा भएको स्थानीय तहको चुनावबाट आएका जनप्रतिनिधिको टिमले ‘विशेषज्ञ वडा क्लिनिक’ सुरू गरेको हो। उपमहानगरका मेयर गोपाल हमालले सुविधामा पाएको सरकारी गाडी यही क्लिनिकका लागि दिएका छन्, इन्धन खर्च पनि आफैं व्यहोर्छन्। उनी निजी गाडी चढ्छन्।
संयोजक अवस्थीका अनुसार क्लिनिकमा तीन जना डाक्टर, एक जना ल्याब प्राविधिक, एक जना इसिजी प्राविधिक, कर्मचारी र चालक सहितको टिम हुन्छ। क्लिनिकका लागि चाहिने कर्मचारी उपमहानगरले दिन्छ। उपमहानगरले क्लिनिक चलाउन एक वर्षका लागि ६० लाख रुपैयाँ बजेट छुट्याएको छ। चिकित्सकको पारिश्रमिक पाँच वर्षसम्म भाटभटेनी सुपर मार्केटले व्यहोर्ने सम्झौता भएको छ।
वडा नम्बर सात, देवरीयाका बासिन्दा दामोदर साहुले उपमहानगरले वडा क्लिनिक सुरू गरेपछि सजिलो भएको बताए। उनले भने, ‘मेयर सक्षम मान्छे हुनुहुँदो रहेछ। जनताले निःशुल्क स्वास्थ्य सेवा पाएका छन्। आफूले पाएको गाडी जनताको सेवामा दिनुभएको छ।’
वडा नम्बर १५ का बासिन्दा छोटेलाल चौधरीले उपमहानगरले सात महिनामा राम्रा काम धेरै गरेको बताए। उनले भने, ‘मेयरसाबले स्वास्थ्य र शिक्षाको ग्यारेन्टी लिन्छु भन्नुभएको छ। स्वास्थ्य शिविर आएपछि धेरै राम्रो भएको छ।’ वडा नम्बर आठकी बासिन्दा जानकी रानाले उपमहानगरमा यसअघि नभएका धेरै नयाँ काम हुने आशा लागेको बताइन्। हालका मेयर गोपाल हमाल स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए।