‘कोसेलीमा कोरोना ल्याएको छैन मैले’
2020/06/28, 2:12
 
korona

गंगा भण्डारी- ३५ वर्षिय धनबहादुर बोहरा एक छोरी, एक छोरा र श्रीमति सहित  धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा बस्छन । उनको जन्मस्थान भने बझाङ हो । घरको आर्थिक अवस्था कमजोर भएकोले बोहरा सानै उमेरमा रोजगारीका लागि भारत गए । भारत गएर कमाउन थालेको करिब १७÷१८ वर्ष भईसकेको छ । भारतमा एउटै शहर, एउटै ठाउँमा सधै एकै प्रकृतिको काम हुदैन, बर्ष बर्ष काम र शहर फेरिरहन्छ । पछिल्लो समय उनी दिल्लीको फरिदावाद स्थित एक होटलमा काम गरिरहेका थिए । एक चोटी कुनै ठाउँमा काममा लागि सकेपछि विदा पाउन मुस्किल हुने उनी बताउँछन् । तर ७६ को दशंै तिहार मनाउन जसोतसो विदा मिलाएर उनी घर आएका थिए । चाडपर्व सकिएसंगै परिवारसँग विदा वारी गरी संगै आएका साथीभाई संग उनी दिल्ली फर्किए । सबै सधै झै ठिकै चलिरहेको थियो, बेला बखत घरमा फोन गरेर  उनी परिवार र गाउँघरकाको हालखबर सोधिरहन्थे, उनको आफ्नो दिनचर्या भने त्यही होटलको काम गरेर वितिरहेको थियो । 

गत फाल्गुनको पहिलो हप्ता एकदिन भारतमै रहेका उनका एक साथीले फोन गरेर आफु केही साथीहरु नेपाल फर्कन लागेको र जाने भए सँगै फर्कियौं भने । तर बोहराले आफु अहिले हैन पछि दशैमा फर्कने कुरा गरे । उनले बरु आफ्ना छोराछोरी र परिवारका लागि केही सामान र चकलेट कोसेली स्वरुप लगि दिन भनेर नेपाल फर्कने साथीभाईलाइ भेटेर ती सामानहरु दिए । दुई चार महिना थप बसेर केही पैसा कमाउँला र परिवार पाल्न त्यसले केही सहज होला अनि अब आउने दशै तिहार पनि परिवारसँगै रमाइलो गरि मनाउँला भन्ने उनको सोच थियो । तर कस्लाई  थाहा थियो र विश्वमा यस्तो संकट आउला भनेर । कोरोना भाइरसको महामारीले  यसरी विश्वरभरी नै भयावह स्थिति ल्याउला भनेर त सायद कसैले कल्पना पनि गरेका  थिएनन् । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाको संक्रमण एकपछि अर्को गदै विभिन्न देशमा फैलदै गयो । यसको संक्रमणबाट भारत पनि अछुतो रहन सकेन ।  संक्रमण थप बड्न नदिन भारतमा लकडाउनको घोषणा भयो, सरकारले सबै कलकारखाना, उद्योगधन्दा, होटल तथा बजार व्यावसाय बन्द गर्ने निर्णय गर्यो । यो संगै बोहरा काम गर्दै आएको होटल पनि बन्द भयो र उनको जागिर पनि सकियो । 

यता नेपालमा पनि नेपाल सरकारले कोरोना भाइरसको संक्रमण नेपालमा फैलन नदिने भन्दै चैत्र ११ गतेदेखि बन्दाबन्दीको घोषणा ग¥यो । सिमा नाकाहरु सबै बन्द भए । भारतबाट नेपाल फर्कने नेपालीहरुलाई सिमामै रोकिन थालियो । बोहराले नेपाल घरमा रहेकी श्रीमति दिपालाई फोन गरे र आफ्नो काम बन्द भएको भन्दै जसोतसो हिडेरै भए पनि नेपाल फर्कने कुरा गरे । श्रीमतिले यता नेपालमा पनि बन्दाबन्दी शुरु भएको र नेपाल सरकारले सिमा नाका हुँदै कसैलाई पनि आउन नदिएको बताइन । उनले केही दिन उतै भारतमै बस्न र बन्द खुलेपछि मात्रै नेपाल आउन सल्लाह दिईन । श्रीमतीको सल्लाह बमोजिम उनले केहि समय उतै बस्ने निर्णय गरे । उनी आफ्नो कोठामै बस्न थाले । एक दिन दुई दिन गर्दै हप्तौ बित्न थाले । कोठामा उनको एकातिर कमाएको पैसा सकिदै थियो भने अर्कोतिर घरको चिन्ता र संसार भरिबाट आईरहेका विभिन्न समाचारहरुले मन अस्थीर बनाईरहेको थियो ।  

त्यसै बिच उनीसँगै भारतमा काम गर्ने केही चिनेका नेपालीले उनलाई फोन गर्दै सबै नेपाली धमाधम नेपाल फर्कन थालेकाले अब हामी पनि नेपाल फर्कनु पर्छ भने ।  बोहराले पनि हुन्छ भने र चैत्र १३ गते बोहरा सहित सुदूरश्चिमका ९३ जना नेपाली मिलेर बस बुकिङ गरेर दिल्लीबाट नेपालका लागि हिडे । बसमा ठेलम ठेल भए पनि यस्तो संकटमा घर जान पाईने भयो भनेर मन फुरुङ्ग थियो उनको । तर उनीहरु चढेको गाडीलाई भारतीय प्रहरीले भारतको उत्तर प्रदेशको रामपुर भन्ने ठाउँमा चेकजाँचपछि मात्रै पठाउने भनेर राती रोक्यो र सबै यात्रुलाई बसबाट झारेर रामपुर धर्मशालामा लगेर राख्यो । कसैलाई के भईरहेको छ भन्ने केही थाहा नै थिएन । पछि मात्र थाहा भयो कि भारत सरकारले उनीहरुलाई त्यहाँ भन्दा अगाडी जाने अनुमति नदिने भएको रहेछ र सबैलाई त्यही धर्मशालाको क्वारिन्टनमा राख्ने भएछ । एकछिन अगाडीसम्म हलुङ्गो उनको मन एक्कासी भारी भएर आयो, उनी आफ्नो अनुभव सुनाउँछन । 

क्वारेन्टीनमा दिन गन्दागन्दै एक महिना भईसकेको थियो तर घर फर्काउने बारे केही टुंगो लागेको थिएन । अब नेपाल आउने कुरा अनिश्चत जस्तै भईसकेको थियो । त्यहाँको व्यवस्थापन र भारतीय प्रहरी लाई सोध्दा माथिको आदेश आएपछि घर पठाईने  जानकारी आउँथ्यो । केहि बढी बोले भारतीय प्रहरीले दुव्र्यवहार गर्थे, बोहरा सम्झन्छन् । त्यस बिच यता नेपालमा रहेको आफ्नो परिवारसँग भने उनी सधै सम्पर्कमा रहिरहे । बोहरा भन्छन–‘त्यहाँ बस्दा हामीहरुको स्वास्थ्य परिक्षण बेला बेलामा भइरन्थ्यो । तर खाना भने साँझ र बिहान गरी दुई पटक  दिईन्थ्यो । नास्ता दिईदैनथ्यो । पिउने पानीको निकै नै समस्या थियो । शौचालयको पनि निकै समस्या थियो । त्यहाँ बस्दा धेरै दुख भोगियो ।’ त्यसो त त्यहाँ क्वारेन्टीनमा रहेकाहरुले सुदूरपश्चिम प्रदेश सरकारसँग पटक पटक सम्पर्क गरेर आफुहरुलाई नेपाल फर्काईदिन अनुरोध नगरेका होइनन तर यताबाट हुन्छ, हामी कुटनितिक पहल गरिराखेका छौं भन्ने मात्रै जवाफ आउँथ्यो । त्यतिबेला उनलाई महसुस भएको थियो कति निरिह हुँदो रहेछ एउटा आम मान्छे र कति ठूलो मुल्य चुकाउनु पर्दाे रहेछ एउटा गरिबले भन्ने । 

बोहरालाई एकातर्फ बिच बाटोमै अलपत्र परेर समस्या झेल्नु परिरहेको थियो भने अर्को तर्फ यता नेपालमा उनको परिवारले आफ्ना छर छिमेक र आफन्तबाट अनेको कुरा सुन्नु परिरहेको थियो । ‘तिम्रो श्रीमान त भारतबाट आउँदैछन रे, अब त हाम्रो गाउँमा पनि कोरोना लिएर आउने भए ।’ भनेर अनेक थरीका कुरा सुन्दा मन कटक्क खाने गरेकोे बोहराकी श्रीमति दिपा बोहरा सम्झन्छिन । अन्ततः भारतको क्वारेन्टीनमा बसेको ५२ औं दिनपछि बोहरा सहित सयौंको संख्यामा रहेका नेपालीलाई भारत सरकारले बसको व्यवस्था गरी कञ्चनपुरको गड्डा चौकी नाकासम्म पु¥यायो । र उनीहरुको स्वास्थ्य परिक्षण गरि आरडीटी र पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको रिपोर्ट पनि दिएर पठायो । गड्डाचौकी सिमा नाकाबाट नेपाल प्रहरी, प्रदेश सरकार तथा स्थानीय जनप्रतिनिधिहरुले उनी लगायत भारतबाट फर्कने सबैलाई सम्बन्धित स्थानिय तहहरुमा पठाए । त्यस्तै उनलाई पनि धनगढी ल्याईयो । कंचनपूर नाकाबाट नेपाल भित्रिने त्यो समुहमा धनगढी उपमहानरपालिकाभित्रको एक जना उनी  मात्र रहेछन । अब त घर जान पाईन्छ होला यत्रो दिन भारतमा क्वारेन्टीनमा बसिसके, स्वास्थ्य जाँचको रिर्पोट पनि नेगेटिभ छ भन्ने उनलाई लागेको थियो तर त्यसो भएन बरु उनलाई ल्याएर  कैलालीको धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखियो । ठिकै छ, म यहाँ चौध दिन फेरि बसेर जाँदा घर र समुदायका मानिस सुरक्षित हुन्छन भने राम्रै हो भन्ने उनलाई लाग्यो । अब  कमसेकम आफ्नो ठाँउमा त आईपूगे भन्ने त्यही हर्षले पनि उनलाई  थप चौध दिन क्वारेन्टीनमा बस्न हौसला मिल्यो । यता बोहराकी श्रीमती दिपालाई भने झन सास्ती थपियो, आफन्त र छरछिमेकीहरुले झन अनेक कुरा सुनाउन थाले । ‘अब त तिम्रो श्रीमान धनगढी आइसके तिमी भेट्न पनि जान्छौ होला, तिमीले त अब यो गाउँमा कोरोना ल्याउने भयौ । अब हाम्रो घरमा नआउनु है, तिम्रा बच्चाहरुलाई पनि आउन नदिनु,’ ईत्यादी । दिपा भन्छिन ‘श्रीमान धनगढी आएपनि म मास्क, स्यानटाइजर लगाएर कैलाली बहुमुखि क्याम्पस श्रीमानलाई भेट्न गएँ, उहाँलाई टाढैबाट भेटेर फर्किएँ । श्रीमानलाई भेटन गएको थाहा पाएपछि त झन छर छिमेकीले म र मेरा बच्चासँग बोल्न समेत बन्द गरे । देखेपनि नदेखे झै गरि बाटो काटेर हिड्न थाले ।’

बोहरा कैलाली बहुमुखी क्याम्पसकै क्वारेन्टीनमा थिए । भारतबाट नेपाल फर्कनेहरुको संख्या प्रत्येक दिन बढी रहेको थियो । क्वारेन्टिनमा मान्छे राख्ने ठाउँको पनि अभाव हुन थाल्यो । त्यहाँ पहिलेदेखि नै रहेकाहरु लाई चौध दिन राखेर आरडिटी र पिसिआर जाँच गरिने र रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाउने भनिएको थियो । त्यसै अनुरुप बोहराको पनि स्वास्थ्य परिक्षण गरिदा रिपोर्ट नेगेटिभ आयो र क्वारेन्टिनमा बसेको १२ औ दिनमा उनलाई घरमै होम क्वारेन्टिनमै बस्न भन्दै स्थानीय जनप्रतिनिधिहरुले कागज गराएर घर पठाए । ५२ दिन भारत र १२ दिन नेपालको क्वारेन्टिनमा बसेर अन्तः उनी घर त आई पूगे तर त्यसपछि पनि उनी सबैबाट टाढा टाढा रहन्थे घरमा छुट्टै कोठामा बस्थे । बोहरा भन्छन ‘म घर आएपछि त झन म लगायत मेरो परिवारलाई शंकाको दृष्टिकोणले हेर्न थालियो । मानौं मैले कुनै ठुलै अपराध नै गरेर घर फर्किएको थिए ।

पहिले भारतबाट फर्किदा ओहो लाहुरे बाबु कहिले आयौं अनि हामीलाई के लिएर आएका छौ त भनेर सोध्ने मेरा आफन्त तथा छरछिमेकीहरुले यस पटक म सँग त के मेरा छोराछोरीहरुसँग समेत बोल्न छाडे । जस्तो कि मैले उनीहरुका लागि यस पटक कोसेली स्वरुप कोरोना नै बोकेर ल्याए । उल्टै म कोठाबाट बाहिर ननिस्केकोलाई मानिसहरुले यो त पसल पसल सामान किन्न गईराखेको छ भनेर वडाध्यक्षलाई फोन गर्न थाले । तर म भने एउटा कोठामा एक हप्तासम्म बाहिर ननिस्किएर छुट्टै बसिरहेको थिए । एक हप्तापछि मात्रै म बाहिर निस्किएको हुँ । अहिले पनि म घरमै बसिरहेको छु । काम बाहेक बाहिर निस्कदैन ।’ उनी भन्छन, ‘यस्तो कठिन परिस्थितिमा यत्रो दिनहरु क्वारिन्टनमा मैले कसरी बिताए भन्ने कुरा बयान गर्न म संग कुनै शब्द छैन, त्यो त म र मेरो परिवारलाई मात्रै थाहा छ । अझै पनि मेरो परिवारसँग छर छिमेकीहरु बोल्न हिच्किचाउँछन । मेरी सानी छोरी सित समेत तिम्रो बुवाले त भारतबाट कोरोना ल्याएर होलान भन्छन ।’ यति भनिरहँदा उनका आँखा आँसुले भरिएका थिए । यो त एक जना धनबहनदुरको मात्रै कथा हो । उनी जस्ता हजारौ मानिस प्रत्येक दिन नेपाल भारत सिमाबाट आजभोली नेपाल भित्रिरहेका छन । केही कमाउने र आफ्नो भविष्य बनाउने आशाले उनीहरुलाई भारतसम्म डोर्यायो तर कस्लाई थाहा थियो र एक दिन उनीहरुले आफ्ना आशाहरुलाई एउटा गुन्टोमा बाँधेर अनेक कष्टहरुको सामना गर्दै यसरी फर्किनुपर्ला भन्ने । 

फर्किदा भोगेको दुखभन्दा बढी अहिले समाजमा आफ्नाहरुले गरेको व्यवहारले धनबहादुर जस्ता कयौलाई विछिप्त बनाएको छ ।  कोरोना संक्रमण नहुँदा त यस्तो छ भने हुनेहरु कोरोना जितेर समाजमा फर्किदा उनिहरुलाई कस्तो व्यवहार गरिदै होला ? उनीहरुका परिवारको अवस्था के होला ? उनीहरुको परिवारमा रहेका बालबालिकाको मस्तिष्कमा कस्तो असर परेको होला ? सोचौं । हो अहिले कोरोना संक्रमण फैलिएको छ । पक्कै पनि सबैलाई डर लागेको छ । यसो भन्दैमा कसैलाई हेयको दृष्ठिकोणले नहेरौं । यो समय एक अर्कालाई साथ र सहयोग दिने र संयमता अपनाउने हो । धैर्यता गुमाउने हैन तसर्थ सकिन्छ भने भौतिक दुरी कायम गरी एकअर्कालाई सहयोग गरौं । आफु र आफ्नो परिवारमा सरसफाईको ध्यान दियौं । बाहिरबाट आएका ब्यक्तिहरुलाई हेला होइन क्वारेन्टीनमा बस्नका लागि प्रोत्साहन गरौं । एक अर्कालाई सम्मानपूर्वक व्यवहार गरौ । यो एउटा नराम्रो समय मात्रै हो जुन एक दिन अवश्य टरेर जानेछ । आशावादी बनौ । (उनी कोरोना भाईरस सिभिक एक्ट क्याम्पेनमा कार्यरत रहेकीछिन् ।