राष्ट्रिय धान दिवसः यस वर्ष सुदूरपश्चिममा रोपाई महोत्सव नहुने
2020/06/29, 7:08
 
dhan

सोमवार राष्ट्रिय धान दिवस, विगतका बर्षहरुमा असार १५ लाई विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउने गरिएको थियो । प्रत्येक वर्ष असार १५ गते प्रदेश सरकारले आयोजना गर्ने रोपाई महोत्सव यस वर्ष नहुने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोना संक्रमणका कारण सोमबार हुने रोपाई महोत्सव स्थगित गरिएको जनाएको छ ।

विगतका बर्षहरुमा राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम र धान महोत्सव गरी प्रदेशभरी नै कार्यक्रमहरु आयोजना गरिदैं आएकोमा यसपाली संक्रमण फैलन सक्ने खतराका कारण राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव स्थगित गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले बताए । ‘विगतका वर्षमा हामीले धूमधामसँग रोपाई महोत्सवको आयोजना गर्ने गरेका थियौँ’ उनले भने ‘यस वर्ष सङ्क्रमण फैलन सक्ने अवस्थाले स्थगित गरिएको छ ।’

सरकारले २०६१ साल देखि असार १५ मा राष्ट्रिय धान दिवस मनाउँदै आएको थियो । प्रदेश सरकारले भने विगत ३ वर्षदेखि राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको आयोजना गर्दै आएको थियो ।