माघ १ गते परशुराम धाममा मेला लाग्ने
2023/01/08, 4:47
 
dham

डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाको परिगाउँस्थित परशुराम धाममा माघे सङ्क्रान्तिको अवसरमा यस वर्ष पनि मेलाको आयोजना हुने भएको छ । हरेका वर्ष माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्दै आएको यस वर्ष पनि परशुराम धाममा मेला लाग्ने भएको हो ।

सो अवसरमा नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले मेलामा सहभागिताको लागि देशभरका पालिकाका प्रमुख र उपप्रमुखलाई आह्वान गरेका छन् । यहाँको धार्मिक,सांस्कृतिक पक्षको प्रचार प्रसार तथा संरक्षण र विकासमा योगदान गरिदिनको लागि मेयर जोशीले महाकालीमा स्नानका लागि सबैमा नगरपालिकाको तर्फबाट आमन्त्रण गरेका हुन् । 

उनले एक शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘उत्तरायण प्रारम्भ हुने दिन मनाइने मकर सङ्क्रान्तिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु,’ माघ महिनाको शुभारम्भमा मनाइने  प्रमुख चार्डमध्ये मकर सङ्क्रान्ति  पर्व परशुराम नगरपालिका वडा नम्बर ५ महाकाली नदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुराम धाममा प्रत्येक वर्ष महास्थान, भजन कीर्तन लगायतका विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरि हर्षोल्लासका साथ मनाइन्छ । यस पर्व मनाउन सहभागी भइदिनहुनका साथै धार्मिक,सांस्कृतिक पक्षको प्रचार प्रसार तथा संरक्षण र विकासमा योगदान गरिदिनको नगरपालिकाको तर्फबाट हार्दिक निमन्त्रणा गर्न चाहन्छु ।’ यस्तै उनले परशुराम नगरपालिकामा भक्तजनहरूलाई स्वागत गर्न तत्पर रहेको उल्लेख गरेका छन्।