सन्दर्भ धान दिवसः सुदूरपश्चिममा चामल आयातमा कमी
2020/06/29, 7:41
 
chamal

सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षमा चामल आयातमा कमी आएको छ । हरेक वर्ष अर्वौ रुपैयाको चामल आयात हुदै आएकोमा चालु आर्थिक वर्षमा कमी आएको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका अनुसार कैलाली भन्सार हुदै प्रदेशमा गत आर्थिक वर्ष २०७५÷७६ मा २५ हजार एक सय २१ मेट्रिक टन चामल आयात भएको थियो । गत वर्ष एक अर्व २८ करोड ५५ लाख ५७ हजार तीन सय ३९ रुपैया मूल्यको चामल आयात भएको थियो । 

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७६÷०७७ मा गत वर्षको तुलनामा चामल आयातमा निकै कमी आएको छ । चालु आर्थिक वर्षमा ११ हजार तीन सय १७ मेट्रिक टन मात्र चामल आयात भएको जनाइएको छ । यसको मुल्य  ६१ करोड रुपैया हो । प्रदेश कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले मन्त्रालयले सञ्चालन गरेका कार्यक्रमका कारण चामल आयातमा कमी आएको दावी गरे । उनले भने– मन्त्रालयले चामल आयातमा कमी ल्याउन चैते धान खेती विस्तार, मसिनो र बास्नादारी धान खेती कार्यक्रम, सिचाईं सेवाको विस्तार लगायतका कारण चामल आयातमा कमी ल्याउन सफल भएका छौं । तर, मन्त्रालयले यसो भनिरहदा आफै त्यसको खण्डन पनि गरेको छ ।

मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले यस वर्ष सरकारले जारी गरेको लकडाउनले पनि चामल आयातमा प्रभाव परेको बताए । उनले भने– सरकारले गरेको लकडाउनले चामल ढुवानी हुन सकेन । यसका कारण पनि चामल आयातमा कमी आएको हुन सक्छ । सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष धान उत्पादनमा वृद्धि हुदै गएको पनि मन्त्रालयले दावी गरेको छ । मन्त्रालयका प्रवक्ता शर्माले देशभरी नै धान उत्पादनमा कमी आए पनि प्रदेशमा भने धान उत्पादनमा वृद्धि भएको तथ्यांकले देखाउने गरेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेशमा छ लाख पाच हजार मेट्रिक टन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०७६÷७७ मा छ दशमलव सात प्रतिशतले धान उत्पादनमा वृद्धि भएको थियो । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा छ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ । मन्त्रालय मातहातको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले संघीयता लागु भएसंगै प्रदेशमा कृषि क्षेत्रमा फड्को मारेको बताए । उनले भने– संघीयता अघि कृषिमा बजेट पनि अपुग थियो । अहिले किसानका लागि प्रदेश र स्थानीय तहबाट कृषि सामग्री, विउ लगायतको सहयोग पुगेको छ । यसले कृषकलाई पहिलेको भन्दा धेरै हदसम्म सहयोग पुगेको छ ।