बैतडीमा नवजात शिशु मृत्युदर बढ्दो क्रममा
2023/01/10, 12:30
 
rtthererew33

 बैतडीमा नवजात शिशु मृत्युदर बढ्दै गएको छ । स्वास्थ्य कार्यालयको पछिल्लो तीन बर्षको तथ्यांक तुलना गर्दा नवजात शिशु मृत्युदर बढ्दै गएको देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

बैतडीमा आर्थिक बर्ष २०७६/७७ मा ३१ जना नवजात शिशुको मृत्यु भएको थियो भने आर्थिक बर्ष २०७७/७८ मा त्यो संख्या बढेर ४८ पुगेको थियो । अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा बैतडीमा ५१ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

गएको आर्थिक बर्षमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १३ जना नवजात शिशुको मृत्यु भएको छ । यस्तै मेलौली नगरपालिकामा ११ जना, सिगास गाउँपालिकामा ६ जना, दरशथचन्द र पाटन नगरपालिकामा ५/५ जना, डिलाशैनी र शिवनाथ गाउँपालिकामा ४/४ जना र सुर्नया गाउँपालिकामा २ जना नवजात शिशुको मृत्यु भएको छ । 

जिल्लामा १३० सुरक्षित प्रसुती सेवा केन्द्र सञ्चालनमा रहेका भएपनि विभिन्न कारणले नवजात शिशुको मृत्यु भएको बताइएको छ । स्वास्थ्य संस्थाहरुमा दक्ष प्रसुतीकर्मी नहुनु, सुत्केरी हुनका लागि आमाहरु स्वास्थ्य संस्था नजानु लगायतका कारणले नवजात शिशुको मृत्यु हुने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए । 

यस्तै नवजात शिशुमा संक्रमण हुने, शितांग हुने, समयभन्दा अगाडि जन्मुन र निस्सासिएर पनि मृत्यु हुने गरेको स्वास्थ्य प्रमुख भट्टले बताए । नवजात शिशुको मृत्यु रोकथामका लागि स्थानीय तहहरुले पनि बिशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।