कर्णाली नदीमा हिउँदमा दुर्लभ डल्फिन देखियो
2023/01/20, 5:56
 
dd

कैलालीस्थित कर्णाली नदीमा जाडो याममा दुर्लभ डल्फिन देखा परिरहेका छन् । वर्षा याममा कर्णालीका सहायक नदीहरु मोहना, पथरैया, कान्द्रामा देखिने डल्फिन अहिले भने कर्णालीमा सजिलै देखा परिरहेका हुन । टीकापुर नगरपालिका–८ स्थित श्रीलङ्का क्षेत्र, अरुणाफाँटा लगायतका कर्णालीको तल्लो तटीय क्षेत्रमा केही सङ्ख्यामा डल्फिन देखा पर्दैछन् । 

सहायक नदीहरुमा वर्षा याममामात्रै डल्फिन आउने गरे पनि कर्णालीमा भने सधैंभरि डल्फिन बस्ने गरेको चराविदसमेत रहनु भएका संरक्षणकर्मी हिरुलाल डङ्गौराको भनाइ छ । उनले यो वर्ष हिउँदभरि कर्णालीमा डल्फिन देखा परिरहेको बताए ।  डल्फिन बस्नको लागि नदीमा पानीको गहिराई आवश्यक पर्दछ । अहिले कर्णालीबाहेक अरु नदीमा गहिराई छैन । मोहना, पथरैया, काँढा नदीमा पानीको सतह घटेपछि डल्फिनहरु कर्णाली नदीतिर फर्कने गरेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए । हिउँदमा कर्णाली नदीमा एकैदिन सात वटासम्म डल्फिन देखा परेको उनले जानकारी दिए । 

‘अस्ती अरुणाफाँटा क्षेत्रमा सात वटा देख्यौं’, उनले भने,‘एक÷दुई वटा अरु बेला पनि देखा परिरहेका छन् ।’  विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन स्वच्छ पानीमामात्रै बस्न र आहारबिहार गर्न रुचाउँछन् । अर्ध अन्धो मानिने डल्फिनले तरङ्गमार्फत आफ्नो आहारा, समूह पत्ता लगाउने गर्दछन् । यसैगरी, सम्भावित खतरालाई पनि यो प्रजातिको डल्फिनले तरङ्गमार्फत नै थाहा पाउने गर्दछन् । एउटा वयस्क डल्फिनको तौल एक सयदेखि १६० केजीसम्म रहने गरेको बताइन्छ ।  यो प्रजातिको डल्फिन २० देखि २५ वर्षसम्म बाँच्ने गर्दछन् । 

पानीमा बसे पनि दुई/तीन मिनेटको फरकमा स्वाँस फेर्नका लागि डल्फिन पानी बाहिर निस्किने गर्दछन् । त्यसबेला ‘स्वाँ’ आवाज निस्कने गरेका कारण स्थानीय स्तरमा यीनलाई धेरैले ‘सोंस वा स्वाँसु’ भनेर चिन्दछन् । डल्फिनले स्वाँस फेर्ने प्वाललाई ‘ब्लो होल’ भन्ने गरिन्छ । डल्फिनले वर्षमा एक वटा बच्चा जन्माउने गरेको जनाइएको छ ।    अहिले कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा देखा परिरहेका विश्वमै दुर्लभ डल्फिन बर्खाभरि बच्चा हुर्काउन र आहारविहार गर्नका लागि सहायक नदीमा पुग्ने गर्दछन् । यस वर्षको वर्षा याममा मोहना, पथरैया र कान्द्रामा गरेर करिब ४० वटासम्म डल्फिन देखा परेको अध्यक्ष ढुङ्गानाले बताए । डल्फिन हेर्नका लागि हरेक वर्ष विदेशी पर्यटकसमेत यहाँ पुग्ने गर्दछन् । 

डल्फिन पाइने क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाइए पनि सो कार्य अहिलेसम्म पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । जथाभावी माछा मार्दा दुर्लभ डल्फिनलाई असर परिरहेको छ । माछा मार्ने कार्य सबैभन्दा ठूलो चुनौतीको विषय बनेको उल्लेख गर्दै अध्यक्ष ढुङ्गानाले भने,‘डल्फिन संरक्षण क्षेत्र वा सेन्चुरी घोषणा गरिएको भए सायद माछा मार्ने कार्य रोकिन्थ्यो कि १’ उनले भारतीय मछुवाहरुसमेत आएर कर्णालीमा जथाभावी माछा मार्ने गरेको बताए ।