सुदूरपश्चिम मुख्यमन्त्रीमा विश्वास मत दिनेबारे उन्मुक्तिसँग ठोस समझदारी भएन, बैठक स्थगित
2023/01/25, 2:07
 
सुदूरपश्चिम मुख्यमन्त्रीमा विश्वास मत दिनेबारे उन्मुक्तिसँग ठोस समझदारी भएन, बैठक स्थगित

धनगढी - बुधबारका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ। बुधवार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक प्रदेशसभा सचिवालयले मंगलबार प्रदेशसभा सदस्यहरुलाई अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी पठाएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले प्रदेश सभा सञ्चालनका लागि कार्यसूचि नभएको र अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताएका छन्।

सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको लिएका छैनन्। दल तथा सांसदहरुबीच समझदारी भएको भए बुधबार बस्ने भनिएको बैठकमा विश्वासको मत लिने तयारी मुख्यमन्त्रीको थियो ।यतिबेला मुख्यमन्त्री रावल काठमाडौंमा छन्। तर निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग अझै ठोस समझदारी भइनसकेकाले विश्वासको मत लिने दिन पनि अनिश्चित भएको हो । काठमाडौंमा मुख्यमन्त्री रावलले नागरिक उन्मुक्तिका सांसदहरु तथा नेताहरुसँग आफ्नो र प्रधानमन्त्रीसहित शीर्ष तहको राजनीतिक भेटघाट गराएर समझदारीको प्रयत्न गरिरहेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड), एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरुसँग भेटघाट तथा छलफल गरेका छन्। केन्द्रीय नेताहरुलाई नागरिक उन्मुक्तिको मुद्दा सम्बोधन गर्न र विश्वासको मतका लागि वातावरण बनाउन उनले आग्रह गर्दै आएका छन्।

सुदूरपश्चिम प्रदेशसभामा संख्यात्मक रूपमा निर्णायक घटकका रूपमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको एमाले संसदीय दलका नेता रावललाई विश्वासको मत दिने नदिने बारेमा नागरिकले अझै ठोस निर्णय गरिसकेको छैन। दलका संरक्षक रेशम चौधरीको रिहा पछि मात्र मुख्यमन्त्रीलाई समर्थन गर्ने नागरिक उन्मुक्तिको मुख्य मुद्धा रहेको छ। आफ्ना नेता रेशम चौधरीको रिहाइ मुख्यमन्त्रीलाई समर्थन गर्ने मुख्य ‘बटम लाइन’ रहेको संसदीय दलका नेता रामेश्वर चौधरी बताउँछन्।

त्यो कदममा प्रदेश सरकारको कुनै ठोस भूमिका नहुने भएकाले केन्द्र सरकारले नै गाँठो फुकाइदेओस् भन्ने मुख्यमन्त्रीको चाहना र अपेक्षा देखिएको छ। रेशम चौधरीको रिहाइ गर्न एमाले अध्यक्ष र प्रधानमन्त्रीको संयुक्तप्रयास रहने आश्वासन प्राप्त भएको नेताहरुले बताए। सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मतका लागि २७ जना प्रदेश सभा सदस्य आवस्यक पर्छ। सुदुरपश्चिम प्रदेशमा सुदूरपश्चिममा ५३ जना प्रदेश सभा सदस्य छन्। माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेश सभा सदस्य छन्। यस्तै सत्तागठबन्धन बाहिर काँग्रेसका १९, समाजवादीका चार तथा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्।