बैतडीका अधिकांश बजार भूकम्पको जोखिममा
2023/01/26, 11:49
 
ss

यसै वर्षको कात्तिकमा डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प आयो। त्यो भूकम्पबाट ६ जनाको ज्यान गयो भनेदर्जनौ घरहरू भत्किए। मंगलबारमात्रै बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्पमा परी एक जनाको ज्यान गयो दुई जना घाइते भए। पछिल्लो भूकम्पले पनि बाजुरा र बझाङका स्थानीयका दर्जनौं घर भत्कायो। 

भूकम्पीय मापनका हिसाबले ६ देखि ७ म्याग्निच्युडका भूकम्पलाई मध्यमस्तरको भूकम्प भनिन्छ। ६ म्याग्निच्युडभन्दा मुनिको भूकम्पलाई साना भूकम्प भनिन्छ। मंगलबार गएको भूकम्पले पनि बाजुरासँगै छिमेकी जिल्लाहरू प्रभावित बनेका छन्। भूकम्पले तत्कालै मानव निर्मित भवनलगायतका संरचनाले क्षति पु¥याउने गर्छ भने दीर्घकालीन रूपमा बाढी तथा पहिरोको जोखिम बढाउने गर्छ। 

साना भूकम्पका कारणले पनि जनधनको क्षति भइरहदा नयाँ बन्ने गरेका संरचनामा सबै पक्षले ध्यान दिनुपर्ने देखिएको छ। बैतडीका मुख्य बजार क्षेत्रमा बनेका ठूला संरचनाहरू भूकम्पीय जोखिममा रहेका छन्। प्राविधिकहरूका अनुसार नयाँ बनेका संरचनामा मापदण्डको पालना नहुने गरेको पाइएको छ। 

तीन तलाभन्दा ठूलो संरचना बनाउँदा अनिवार्य माटो परीक्षण, नक्सा पासलगायतको प्रक्रिया आवश्यक पर्छ तर बजार क्षेत्रमा पनि कुनै घरधनीले नक्सा पास तथा माटो परीक्षणलगायतको प्रक्रिया नपुर्‍याउने गरेको दशरथचन्द नगरपालिकाका इन्जिनियर जयसिंह बोहराले बताए।   ‘जिल्लामा ठूला संरचनाहरू बनिरहका छन्। कानुनी प्रक्रिया अबलम्बन हुँदैन। हामीले पटक–पटक सूचना जारी गरेर नक्सापास गरेर मात्रै संरचना बनाउन आग्रह गर्ने गरेका छौं, तर केही घरधनीहरूले बैंकिङ कारोबारका लागि मात्रै नक्सा पास गर्ने गरेका छन्,’ उनले भने।

जिल्लाको सदरमुकाममा रहेका दशरथचन्द नगरपालिकाको गढी, गोठलापानी, शाहिलेक बजार, पाटन नगरपालिकाको पाटन बजार र खोडपे बजारमा बन्न लागेका संरचनाहरू भूकम्पीय जोखिममा रहेका प्राविधिकहरूले बताएका छन्। पाटन बजार र खोडपे बजारमा बन्ने गरेका अधिकांश संरचनाहरू भूकम्पीय जोखिममा रहेका पाटन नगरपालिकाका सव–इन्जिनियर दिनेश ऐरले बताए।  ‘बजार क्षेत्रमा आफ्नै तरिकाले घरहरू बनाइने गरिएका छन्। नक्सा पास गरिँदैन’, उनले प्रष्ट पारे। घरको जग बसाल्नेदेखि संरचना सम्पन्न भइसक्दासम्म प्राविधिकहरूको सल्लाह लिनुपर्ने भए पनि त्यो नहुने गरेको उनले बताए। 

जिल्लामा स्थानीय तहहरूले सेवा क्षेत्रभित्र रहेका घरहरूको अभिलेख संकलन गरिरहेका छन्। निर्माण गरिएका घरहरूको अवस्थाका बारेमा अभिलेखीकरण समेत गरिएको पाटन नगरपालिकाले जनाएको छ। अभिलेखीकरणका क्रममा अधिकांश संरचनाहरू भूकम्प प्रतिरोधी नरहेको नगरपालिकाले जनाएको छ। नक्सा पास नगरे पनि घरहरू निर्माणमा देखिएका कमीकमजोरीका बारेमा घरधनीहरूलाई जानकारी गराउने गरिएको छ। 

सरकारी भवनहरू भूकम्प प्रतिरोधी नै हुने गरेको सहरी विकास तथा भवन डिभिजन कार्यालय बैतडीका प्रमुख लालसिंह बिष्टले दाबी गरे। ‘हाम्रा मातहत बन्ने भवन तथा संरचनाहरू अनिवार्य भूकम्प प्रतिरोधी निर्माण गर्छौं’, उनले भने, ‘स्थानीय तह मातहत बन्ने संरचनाका बारेमा हामीलाई जानकारी छैन।’  २०३७ सालमा बझाङ केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएको थियो। त्यसपछि पनि २०५८ सालमा सुदूर पहाडमा ठूलो भूकम्प गएको थियो। त्यसबेला ठूलो जनधनको क्षति भएको थियो।