दुई वर्षमा सक्नुपर्ने दैजी–जोगबुढा सडक ६ वर्षमा पनि बनेन
2023/01/26, 5:44
 
ss

दुई वर्षमा सक्नुपर्ने कञ्चनपुरको दैजी–जोगबुढा सडक खण्डको निर्माण तोकिएको भन्दा तेब्बर समय बितिसक्दा पनि अधुरै छ । यहाँको बेदकोट नगरपालिकाको छेलादेखि उत्तर लिप्ना ९डडेल्धुराको सीमा० सम्मको १६ किलोमिटर सडकखण्ड कालोपत्र गर्न २०७४ वैशाखका ठेक्का सम्झौता भएको थियो ।

निर्माणको जिम्मेवारी पाएको नार्गाजुन कन्ट्रक्सन प्रालीले हालसम्म करिब नौ किलोमिटर सडक कालोपत्र गरे पनि अहिले एक वर्षयता निर्माण रोकिएको छ । महेन्द्रनगरस्थित पूर्वाधार विकास कार्यालयका सूचना अधिकृत हेमराज भट्टले गत वर्ष वर्षात्पछि उक्त सडकखण्डको करिब एक किलोमिटर कालोपत्र सडक र अन्य संरचना भत्किएको बताए  ।

 रु १६ करोड ३६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको उक्त सडकखण्ड अहिले पनि ठाउँठाउँमा पहिराले भत्किएको भए पनि बनाउने सुरसार निर्माण कम्पनीले गरेको छैन । “बीचमा मुख्य निर्माण व्यवसायीको निधनलगायतका कारणले निर्माण ढिलो भएको हो”, उनले भने , “भत्किएको संरचनाको ‘भिओ’ हुनसमेत समय लागेकाले काम अघि बढ्न नसकेको हो ।”

 ठेक्का हुँदा १६ किलोमिटर निर्माणका लागि भए पनि अहिले तीन किलोमिटर कम गर्नुपर्ने भएको सूचना अधिकृत भट्टको भनाइ छ । “भेरिएसनपछि बाँकी रहेको तीन किलोमिटर सडक निर्माणका लागि प्रदेश सरकारले छुट्टै ठेक्का गर्ने तयारी छ”, उनले भने, “विसं २०७६ साउनमा सक्नुपर्ने काम अझै बाँकी छ ।”

 उक्त खण्डको निर्माणका लागि आगामी असारसम्म तेस्रो पटक म्याद थप भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला आवागमनका लागि दैजी जोगबुढा सडक अत्तरिया–डडेल्धुरा खण्डभन्दा कम पर्छ । पहाडी जिल्लाको छोटो दूरीका हिसाबले दशकौँअघि निर्माणको सुरसार गरिएको उक्त खण्डको गति अझै बढ्न सकेको छैन । 

 “सडक निर्माण कम्पनीले रु १२ करोड लगिसकेको छ”, उनले भने, “अब आगामी आइतबारदेखि काम अगाडि बढाउँछु भनेको छ ।” महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुराको दूरी एक सय ६५ किलोमिटर पर्छ भने महेन्द्रनगरदेखि दैजी–जोगबुढा हुँदै डडेल्धुरा जान ६५ किलोमिटर दूरी कम हुन्छ ।