भूकम्पको डरले घर छोड्दै त्रिपालको बास
2023/01/27, 12:30
 
भूकम्पको डरले घर छोड्दै त्रिपालको बास

भूकम्पको डरले बाजुराका अधिकांश स्थानीय घर छोडेर त्रिपालको बास गर्दै आएका छन् । गत मङ्गलबार ५ दशमलव ९ म्याग्नेच्युटकोे भूकम्पले बाजुरावासीलाई त्रिपालको बास गराएको हो । गत मङ्गलबार स्वामिकार्तिकको मेलामा केन्द्रबिन्दु भएर गएको ५ दशमलव ९ म्याग्नेच्युटकोे भूकम्पले घर भत्किएपछि उनीहरु अहिले सुरक्षित स्थानमा त्रिपालको बास गर्दै आएको हुन् ।

बाजुराको स्वामिकार्तिक मेलामा गत मङ्गलबारमा गएको भूकम्पले बाजुरामा एक जना महिलासहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा गौमुल –२ का राजदल बोहरा, चन्द्रा महत र हुम्ला ताजाकोट ३ की सरिता नेपाली हुनुहुन्छ । घाइते सरिता नेपाली बाजुराको कोल्टीमा आफ्नी दिदिको घरमा आएको बेला उहाँ भूकम्पमा परी घाइते भईन ।

घाइते भएका चन्द्रा महतको जिल्ला अस्पताल बाजुरामा उपचारपछि डिस्चार्ज हुनुभएको छ भने राजदल बोहराको गौमुल स्वास्थ्य चौकीमा र सरिता नेपालीको कोटी स्वास्थ्यमा चौकीमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । गत मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्पले बाजुरामा मानवीयसँगै भौतिकरुपमा ठूलो क्षति भएको छ ।

बाजुराका आठ वटा स्थानीय तहका २६३ घरमा ठूलो क्षति गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गौमुल गाउँपालिकामा १५, हिमालीमा १२, बडिमालिकामा १५ र बूढीगङ्गामा दुई गरी ४४ वटा घर पूर्णरुपमा भत्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार गौमुलमा तीन, हिमालीमा ६१, खप्तडमा १०, बडिमालिका नगरपालिका १ सय १३, बूढीनन्दामा १४, जगनाथमा १, स्वामकार्तिकमा १४ र बूढीगंगामा तीन गरी २१९ घर आंशिक रुपमा भत्किएको बताउनुभयो । भूकम्पका डरले अहिले बाजुरामा २६३ घरपरिवार खुल्ला आकाशमुनी त्रिपालको बास गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत व्यवस्थापन समितिका संयोजक पुष्कर खड्काले भूकम्पबाट सबैभन्दा बढी पीडित गौमुलकामा भएको बताए । उहाँले अहिले गौमुलमा जिल्ला रेडक्रसबाट ३० थान कम्बल, १० थान त्रिपाल र गैर सरकारी सस्थाबाट १० थान कम्बल १० थान त्रिपाल वितरण गरेको बताए ।

भूकम्पबाट कहाँ के क्षति भयो भन्ने यकिन विवरण तीस दिनमा आइपुग्छ । सो रिपोट अनुसार जिल्ला विपत् व्यवस्थापन समितिले राहत वितरण गर्ने योजना छ । भूकम्प विज्ञ टोली अहिले जिल्लामा पुगेको छ । सो टोलीको सुझाव तथा सहकार्यमा यहाँका भूकम्प पीडितलाई कसरी व्यवास्थापन गर्ने र स्थानीय तहमा अब निर्माण गरिने भौतिक संरचनाहरु कस्तो खालको निर्माण गर्ने भन्ने जस्ता विषयमाथि छलफल गरिने संयोजक खड्काले बताए ।