सुदूरपश्चिम सभाको बैठक अनिश्चित बन्दा विश्वासको मतको छैन् टुंगो
2023/01/27, 3:41
 
सुदूरपश्चिम सभाको बैठक अनिश्चित बन्दा विश्वासको मतको छैन् टुंगो

धनगढी - सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित बनेको छ। प्रदेश सभाको बैठक अनिश्चित बन्दा मुख्यमन्त्रीको विश्वासको मतबारे अझै टुंगो लाग्न नसकेको हो। यसअघि मुख्यमन्त्रीले माघ ११ गते बिश्वासको मत लिने बताएपनी एजेण्डा नभएपछि प्रदेश सभाको बैठक स्थगीत गरिएको थियो।

अहिलेसम्म कुनै एजेन्डा नभएकाले बैठक बस्न नसकेको संसद् सचिवालयका सचिव देवबहादुर बोगटीले बताए। सरकार गठन भएको दुई साता बित्दा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सदनबाट विश्वासको मत लिएका छैनन्। उनी यस अघि बिश्वासको मत लगायत सरकारको भागबण्डाको बिषयका बारेमा शिर्ष नेतासँग छलफल गर्न काठमाण्डौँ गएका थिए। तर अहिलेसम्म ठोस छलफल र सहमती हुन सकेको छैन्।

नागरिक उन्मुक्ती पार्टिले आफ्ना मुद्धा सम्बोधन नभएसम्म बिश्वासको मत नदिने बताएपछ मुख्यमन्त्री रावलसहितका नेताहरुले काठमाण्डौँमा प्रधानमन्त्री, एमाले अध्यक्ष केपी ओली तथा रेशम चौधरीसँग भेट गरेका थिए । तर, छलफल सकारात्मक भएपनि सरकारलाई विश्वासको मत दिनेबारे सहमति भएको देखीएन। नागरिक उन्मुक्तिका प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले हाम्रा माग सम्बोधन नभएसम्म बिश्वासको मत दिन नसक्ने बताए।

नागरिक उन्मुक्तिले सरकारमा सहभागिता र विश्वासको मतका लागि टीकापुर घटनामा जेलजीवन बिताइरहेका पार्टीका संरक्षक रेमश चौधरीसहित अन्य ६ जनालाई रिहाइको प्रक्रिया सरकारले सुरु गर्नुपर्ने सर्त राखेको छ । मुख्यमन्त्री रावल काठमाडौंबाट हिजो (बिहीबार) मात्रै धनगढी फर्केका छन्।सरकारलाई बहुमत पु¥याउन निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सत्तापक्षको ठोस सहमति नहुँदा मुख्यमन्त्रीले विश्वासको मत लिन सकेका छैनन् । यता सरकारले विश्वासको मत लिनका लागि बैठकमा समय माग समेत गरेको छैन।

मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सत्ता गठबन्धन दलसँग छलफल भई रहेको मुख्यमन्त्री रावलले बताएका छन्। उनले निर्धारित अवधिभित्रै सरकारले सदनबाट विश्वासको मत लिने बताए मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ। सत्ता गठबन्धन दलबीच भएको भागबण्डा बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल गत पुस २७ गते नियुक्त भएका थिए।

२८ गते नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेका सन्तोष कुमारी शर्मा थापालाई मन्त्री नियुक्त गरि सपथ खाएका थिए। नागरिक उन्मुक्तिले साथ दिए मात्र यहाँ सत्तापक्षमा बहुमत पुग्ने अवस्था छ। माओवादी संसदीय दलका नेतासमेत रहेका विनाविभागीय मन्त्री खगराज भट्टले विश्वासको मत लिने र सरकारलाई पूर्णता दिने काम सँगसँगै लैजाने गरी छलफल भइरहेको बताए।

नियुक्त मन्त्रीलाई जिम्मेवारी दिन बाँकी छ। सत्ता गठबन्धनको मुख्य घटक नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन तयार भई नसकेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बुझिएको छ। सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मतका लागि २७ जना प्रदेश सभा सदस्य आवस्यक पर्छ। सुदुरपश्चिम प्रदेशमा सुदूरपश्चिममा ५३ जना प्रदेश सभा सदस्य छन्। माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेश सभा सदस्य छन्। यस्तै सत्तागठबन्धन बाहिर काँग्रेसका १९, समाजवादीका चार तथा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। प्रदेश सभामा माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सरकारमा सहभागी दलको २१ मत मात्रै पुग्दछ ।