माघी होमस्टेमा नेपाल लाटोकोसेरो उत्सव हुने
2023/01/28, 12:50
 
ss

कैलालीको घोडाघोडी नगरपालिकास्थित माघी होमस्टेमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । यहि माघ २० र २१ गते दुई दिन उत्सव हुन लागेको हो । लाटोकोसेरो तथा हुचिलको संरक्षण सम्बन्धी सचेतना फैलाउने उद्देश्यले उत्सव गर्न लागेको संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरु र चरा संरक्षण नेटवर्क कैलालीले जनाएका छन् । 

दुई दिनसम्म आयोजना हुने उत्सवमा संरक्षण सम्बन्धी प्रवचन, लाटोकोसेरोकोबारेमा जानकारीमूलक प्रदर्शनी, साँस्कृतिक प्रस्तुति, पौराणिक खेलकुद प्रस्तुति, घोडाघोडी चरा आरक्षमा चरा अवलोकन लगायतका कार्यक्रम हुने जनाइएको छ । मुङ्ग्रहुवा, सखिया, झुम्रा, हुरडुङ्ग्वा, देउडा, कौडा नृत्यका साथै, किचकिच, छुर, टिटी, कोइली दिदी, भुरुङ, सारंगी हाटा जस्ता लोपोन्मुख खेल हुने प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।  

यस्तै, उत्सवको दोस्रो दिन संरक्षणमा योगदान पु¥याउने चार जनालाई ‘राष्ट्रिय प्रकृति संरक्षण’ पुरस्कार प्रदान गर्ने जनाइएको छ । यसवर्ष पुरस्कारका लागि जाजरकोटको संरक्षणकर्मी गोविन्दबहादुर सिंह, काठमाण्डौं–४ गोकर्णेश्वरका अनुसन्धानकर्मी हेमबहादुर कट्वाल, कान्तिपुर दैनिकमा कार्यरत चितवनका पत्रकार रमेशकुमार पौडेल र भारतीय वैज्ञानिक डा. सतीश अपांडे छनोटमा परेका छन् । चारै जनालाई जनही २५ हजार नगदसहित ताम्रपत्र तथा दोसल्लाले सम्मान गरिने आयोजकले जानकारी दिएको छ । 

उत्सवका लागि तयारी भइरहेको चरा नेटवर्क सञ्जाल कैलालीका अध्यक्ष डीआर चौधरीले बताए । उनले उत्सवमा आएको पाहुनाहरुका बसोबास र खानाको व्यवस्था माघी होमस्टे र सुखड, पहलमानपुर लगायतका होटलमा गरिएको उल्लेख गरे । ‘करिब २०० देखि ५०० सम्म पाहुना आउने अनुमान गरेका छौं’, उनले भने,‘एक सय जनालाई होमस्टे र बाँकीलाई होटलहरुमा सहुलियत दरमा बसोबासका लागि व्यवस्था गरेका छौं ।’  वन तथा वन्यजन्तु संरक्षणमा क्रियाशील देशैभरिबाट पाहुना आउने हुनाले यो उत्सवले स्थानीय होमस्टे र घोडाघोडी चरा आरक्षको प्रवद्र्धन गरी पर्यटन विकासमा टेवा पु¥याउने बताइएको छ ।