जनप्रतिनिधि फेरिए, सुध्रिएन सडकको अवस्था
2023/01/28, 12:52
 
ss

स्थानीय तहको पहिलो निर्वाचन ताका धनगढी गाउँ–जुगेडा सडकले राम्रै चर्चा पायो । धनगढी उपमहानगरपालिकाका मूलवासी रानाथारु समुदायको भोट तान्नका लागि दलहरुले बिग्रेको यो सडक निर्माणको विषयलाई प्राथमिकतासाथ उजागर गरे । पहिलो निर्वाचन भएको पाँच वर्ष बितिसकेको छ । तर, सडकको अवस्था अहिलेसम्म ज्यूँको त्यूँ छ । 

पहिलो निर्वाचनबाट चुनिएका जनप्रतिनिधि फेरिएर नयाँ जनप्रतिनिधि आइ सकेका छन् । तर, चुनावी मुद्दा बनेको सडकको अवस्था सुधार हुनु त परै जाओस, दिनदिनै झन बिग्रिदैछ । धनगढी उपमहानगरपालिकाभित्रका विभिन्न सडक स्तरोन्नति भइरहँदा धनगढी गाउँ–जुगेडा सडक स्तरोन्नति नभएपछि स्थानीयमा आक्रोस पैदा हुन थालेको छ । 

‘बन्छ बन्छ भनेर त धेरै सुन्यौं’, धनगढी उपमहानगरपालिका–१० जुगेडाकी माला रानाले भनिन्,‘सात÷आठ वर्ष भइसक्यो । यो थोत्रो सडक अहिलेसम्म बनेको छैन ।’ बिग्रेको सडक नबन्दा दैनिक आफूहरुले सास्ती खेपिरहेको उनको भनाइ छ । ‘म हरेक दिन विहानै तरकारी बिक्रीका लागि बजारमा जाने गर्दछु’, उनले भनिन्,‘यो सडकमा त हामीलाई साइकल चलाउन पनि समस्या छ ।’ 

धनगढी गाउँ चौराहादेखि जुगेडा बी गाउँसम्म छ किलोमिटर दूरी रहेको सडक जीर्ण भइसकेको छ । बाटाभरि खाल्टैखाल्टा छ । थोत्रो भइसकेको सडकमा विहान हिडडुल गर्ने स्थानीय लडेर खस्ने गरेका छन् । यो सडकमा २० वर्षदेखि हिडडुल गरिरहेको अनुभव सुनाउँदै धनगढी उपमहानगरपालिका–९ गौरी कटानका भोजराज दाहालले सडक थोत्रो भएको आठ वर्ष भइसकेको बताए । ‘त्यो बेलादेखि यसको अवस्था यस्तै छ’, उनले भने,‘धनगढीका अरु सबै सडक बन्दैछन् । तर, यहि एउटा सडक जुन कहिल्यै बन्दैन ।’ 

स्थानीय तहको अघिल्लो निर्वाचन ताका र गएको वैशाखमा भएको निर्वाचनमा नेताहरुले यो सडक बनाउने भनेर भोट माँगेको दाहालको भनाइ छ । तर, कसैले पनि सडक बनाउनका लागि पहल नगरेको उनले गुनासो गरे । ‘मैले त अब आन्दोलन गर्न जाउँ भनेर पनि तल्लोतिरका मान्छेहरुलाई भनेको छु’, उनले भने,‘कुरा धेरै भइसक्यो । तर, सडक बन्दैन ।’ धनगढी बजारसम्म दूध पु¥याउने दाहाल हरेक दिन विहानै यो सडकमा आउजाउ गर्छन् । 

वडा नम्बर ८, ९, १० र १२ लाई जोड्ने यो सडकमा दैनिक संयौं मान्छे हिडडुल गर्छन् । दक्षिणतिर कृषिको काम बढी हुने गरेकाले तरकारी बिक्री गर्ने किसानदेखि लिएर दूध उत्पादक, विद्यार्थी विहानैदेखि सडकमा ओहोरदोहोर गर्ने गर्दछन् । पुरै सडक भत्किएर खाल्टैखाल्टा परेकाले आवतजावतमा समस्याका साथै कहिलेकाँही दुर्घटना पनि हुने गरेको उनीहरुको भनाइ छ । 

सडक बन्ने भनेर सर्भेसमेत गरिए तापनि अहिलेसम्म काम नभएको धनगढी उपमहानगरपालिका–८ का सन्तराम रानाले बताए । ‘सर्भेमात्रै गरियो, काम भएन’, उनले बताए । यो सडक कसले निर्माण गर्ने भन्ने नै अहिलेसम्म निक्र्योल हुन सकेको छैन । धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनीयर दिजराज भट्टले यो सडकलाई सडक डिभिजन कार्यालय महेनद्रनगरले बनाउने बताए । ‘सडक बनाउने भनेर हामीले तीन÷चार वर्ष अगाडि सर्भे गरेको हो’, उनले भने,‘तर, अब सडक डिभिजन कार्यालयमार्फत काम हुन्छ । एक करोड रिुपियाँको यसै वर्ष ठेक्का भएको मैले पनि सुनेको छु । अरु बाँकी कुरा थाहा छैन ।’ 

तर, सडक डिभिजन कार्यालय कञ्चनपुरले भने अब धनगढी–गाउँ जुगेडा सडक धनगढी उपमहानगरपालिकाले नै बनाउने बताएको छ । सो कार्यालयका अनुसार गत असोजमा धनगढी उपमहानगरपालिकाका धनगढी गाउँ–जुगेडासहित सात वटा सडकको एक÷एक करोड रुयियाँको ठेक्का भएको थियो । तर, धनगढी गाउँ–जुगेडा, पुरानो भन्सार, जोखर ताल–बेहडाबाबा रोड एसियाली विकास बैंक ९एडीबी० को सहयोगमा बन्ने भन्ने आशयको लिखित पत्र आएपछि यी तीन सडकको बजेट बाँकी चार वटा सडकमा थपेर पुनः ठेक्का गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

‘एउटै सडकमा दोहोरो ठेक्का किन गर्ने बरु अरुमा थप्नुस भन्ने लिखितपत्र आएपछि तीन वटा सडकलाई छोडेर बाँकी चार सडक निर्माणको प्रक्रिया अगाडि बढाइएको छ’, सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनीयर पीयूष चटौतले भने,‘हामीमार्फत चार वटा सडकमात्रै बन्ने हो । बाँकी तीन सडक अब धनगढी उपमहानगरपालिकाले नै बनाउने छ ।’उनले तीन वटा सडकको बजेट कनरी–बेहडाबाबा–चौमाला, राजपुर–एयरपोर्ट–बाँसखेडा, त्रिवेणी र फूलबारी बसपार्क–धनगढी गाउँ सडकमा थपिने बताए । ‘प्रक्रिया जारी छ’, चटौतले भने ।