धनगढी पार्कमा त्रिनगर र पञ्चोदय स्कुलका ‘केटाहरु’ बीच लफडा, १० जना प्रहरीको फन्दामा
2023/01/30, 6:30
 
ss

१२ माघमा परेको सरस्वती पूजाको दिन धनगढीको त्रिनगर माध्यमिक विद्यालय र पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच लफडा भएको पाइएको छ ।

धनगढी पार्कमा जम्मा भएका दुवै विद्यालयका विद्यार्थीहरुबीच समान्य विवादमा हात हालाहाल भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले चासो दिएको छ । पार्कभित्र ५–७ जनाको समूहले एक किशोरलाई निर्घात कुटपिट गरिरहेको भिडियो सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक९डीआईजी०  अशोककुमार सिंहको म्यासेन्जरमा पठाइएपछि प्रहरीले चासो दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले ७–८ कक्षामा अध्ययनरत दुवै विद्यालयका विद्यार्थीबीच समान्य विवादमा झगडा भएको पाइएको जानकारी दिए । उनकाअनुसार घटनामा संलग्न दुवै पक्षका गरेर १० जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सम्झाईबुझाई गरेर छाडिएको छ ।

उनीहरुलाई बोलाएको बखत हाजिर हुने शर्तमा अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । ‘स्कुले विद्यार्थी भएका कारणले कतिपयले नियन्त्रणमा किन लिएको भनेर प्रश्न गर्न सक्छन् तर त्यो दिनको विवादलाई लिएर कुनै अप्रिय घटना नहोस् भनेर हामीले सम्झाई बुझाई गरेका छौँ,’ डीएसपी जोशीले भने, ‘संलग्न सबै जना नाबालक भएकाले परिचय गोप्य राखिएको छ ।’