टिकापुर घटनाको आज सर्वोच्चमा सुनुवाइ, होला त फैसला ?
2023/01/31, 12:04
 
टिकापुर घटनाको आज सर्वोच्चमा सुनुवाइ, होला त फैसला ?

कैलाली - सर्वोच्च अदालतमा आज टीकापुर घटनाको पेसी रहेको छ। यस अघि ८ पटक सम्म साधारण तारिक र ५ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज बहस हुने बताइएको छ। २०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए।

उक्त घटनामा रेशम चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । करिब त्यसको २वर्ष पनि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। फागुन १२ गते रेशम पक्षमा कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुने बताइएको छ ।

सरोज बुढाथोकी,ध्रुवलाल श्रेष्ठ, रन्जितभक्त प्रधानाङ्ग, दीपेन्द्र झा, लोकमनी पोख्रेल, मनिस श्रेष्ठ, आसिश श्रेष्ठ लगायत करिब १ दर्जन बढी वरिष्ठ अधिवक्ताहरूले झझीको लागि बहस गर्ने छन्।जिल्ला अदालतले ११ जनालाई जन्मकैदको फैसला सुनाएको र उच्च अदालत दिपायलले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हुँदा सरकारी वकिलले पनि झझीकै लागि बहस गर्ने बताइएको छ । यसअघि सम्म सरेको पेसीमा आज बहस हुने सम्भावना बढी छ ।टीकापुर घटनाको सन्दर्भमा न्यायाधीशले झझी (झगडिया झिकाऊ)का लागि फैसला गरे टीकापुर घटनाका विषयमा थप बहस हुने छ ।न्यायाधीशले उच्च अदालतकै फैसला सदर गरे अदालतीय प्रक्रिया मार्फत रेशम रिहाइको बहस सकिने छ। कानुन व्यवसायीहरू भने आज दुवै सम्भावना रहेको बताउँछन् ।