बाँचा गरे अनुसार काम गर्न समस्या भयोः नगर प्रमुख  भट्ट
2023/02/01, 4:57
 
ss

कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले सिमित श्रोत साधनले आसिमित आवश्यकता पुरा गर्न समस्या भइरहेको बताएका छन् । बुधबार गोदावरी नगरपालिकाको नवौं नगरसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर भट्टले जनताका अपेक्षा स्वाभाविक भएपनि सिमिति श्रोत साधनका कारण सबै पुरा गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

‘हामी जनप्रतिनिधि संग नगरका जनताले, नगरका कर्मचारीले अपेक्षा गर्नु स्वाभाविक कुरा हो । तर, हामीले बुझ्नुपर्ने कुरा के पनि छ भने हामी कुन अवस्थामा छौ । हाम्रो आर्थिक अवस्था के छ रु’ उनले भने ‘नगर संग सिमित श्रोत साधन छ । तर, नगरका आवश्यकताहरु धेरै छन । यो तपाई हामी सबैलाई थाहा भएको कुरा हो ।’  उनले चुनाव लड्दै गर्दा बिभिन्न ठाउँमा गरेका बाचाहरु पुरा गर्न गाह्रो भएको बताए । उनले भने ‘हामीले चुनावका बेला बिभिन्न ठाउँमा बिभिन्न बाचाहरु गरेका थियौ । यी सबै बाचा पुरा गर्न गाह्रो छ । त्यसको कारण पैसाको अभाव हो ।’

उनले अत्तरिया चोकको विकास गर्न सके समग्र नगरको नाम अगाडी बढ्ने भएपनि सेना र सशस्त्र प्रहरीका कारण यो काम पुरा हुन नसकेको बताए । ‘हामी सुदूरपश्चिम प्रदेशको मुख्य द्धारमा रहेका छौ । हामीसंग एक मात्रै चोक छ । यो चोकलाई सुधार गर्न सक्यौ भने पनि नगरको नाम अगाडी बढ्न सक्छ’ उनले भने ‘विडम्बना यो क्षेत्र आर्मी, सशस्त्रको भोगाधिकार भित्र छ । हामी चाहेर पनि त्यसको विकास गर्न सकिहरेका छैनौ ।’

उनले नगरपालिकाको पर्यटकिय विकासका लागि गोदावरी धामको विकास आवश्यक भएपनि त्यसका लागि नगरको बजेटले सम्भव नभएको बताए । ‘गोदावरीलाई धार्मीक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सक्ने अवस्था छ । तर, त्यो नगरको बजेटले भ्याउदैन । माथिबाट माग गर्दै जादा हामीलाई डिपिआरको आवश्यकता पर्छ’ उनले भने ‘यसअघि पनि डिपिआर बनेको भनिएको थियो । तर, ति अहिले भेटिएका छैनन् । बसपार्कको अधुरो डिपिआर मात्रै भेटिएको छ ।’  उनले नगरका जनप्रतिनिधिले पनि बजेट नपाएको गुनासो गर्नु दुःखद भएको बताए । उनले भने ‘समग्रमा हाम्रो नगरमा समस्या नै समस्या छन । जनताले बिभिन्न माग गर्नु स्वभाविक हो । तर जनप्रतिनिधिले सबै कुरा थाहा पाउँदा पाउँदै पनि बजेट दिएन, काखापाखा भयो भन्नु दुःखको कुरा हो ।’

उनले यस क्षेत्रमा कृषिको धेरै सम्भावना रहेकाले त्यसको विकासका लाग आफू लागिपरेको बताए । ‘कृषिबाट वेरोजगारीको समस्या सामाधान गर्न सकिन्छ । अहिले मैले व्यक्तिगत प्रयासमा कृषिमा ६० लाख बजेट केन्द्रबाट ल्याउन सफल भएका छौ’ उनले भने ‘हामी हिजोका अवस्थामा नगरपालिका रहनु हुदैन केही परिवर्तन हुनपर्छ भन्ने सोचका साथ लागिरहेका छौ । हामी कुन राजनीतिक दलबाट आयौ भन्ने कुरा सकियो अव हामी सबै संगै अगाडी बढ्न आवश्यक छ ।’

उनले नगरको छाडा चौपायाको समस्या सामाधानका लागि ऐन बनाएर काम अगाडी बढाएको बताए । ‘छाडा चौपायाको समस्या सामाधानका लागि २०७४ देखि ७८ सम्म करोडौ रुपैयाँ खर्च भएको देखिएको छ । तर, समस्या जस्ताको त्यस्तै छ’ उनले भने ‘अहिले अलि समय लागेपनि यसलाई ऐन नै बनाएर समस्या सामाधान गर्न तर्फ लागेका छौ ।’