पक्राउ परेसँगै सांसद चौधरी निलम्बित, अदालतमा मुद्दा परे खारेज हुन सक्छ सांसद पद
2023/02/02, 4:50
 
dd

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभामा विजयी अरुण चौधरी पक्राउ परेसँगै सांसद पदबाट निलम्बित भएका छन्। ट्याक्टरमा आगजनी मुद्दामा ९ वर्ष बढी समयदेखि फरार चौधरीलाई बिहीबार बाँकेबाट प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका सांसद चौधरीलाई अहिले कोहलपुरबाट जिल्ला प्रहरी कार्यालय कैलाली लगिएको छ। चौधरी पक्राउ परेको सूचना प्रहरीले संसद सचिवालयलाई जानकारी गराएपछि उनको पद स्वतः जाने संसद सचिवालयका एक अधिकारीले जानकारी दिए।  उनका अनुसार बिहीबार नै संसदलाई चौधरी पक्राउ परेको सूचना दिइसकिएको छ। अब संसदले उनी निलम्बन परेको सूचना टाँस गर्नेछ।

यदि संसद बैठक बस्दैछ भने बैठकमै निलम्बन भएको सूचना सभामुख देवराज घिमिरेले सुनाउनेछन्।  ‘सांसद पक्राउ परेसँगै उहाँको पद स्वत निलम्बन हुन्छ,’ ती अधिकारीले भने, उहाँले कैद भुक्तान गरेपछि पुनः सांसद रहन सक्नुपनि हुन्छ।’ नेपालको संविधान २०७२ को धारा १०३ मा संघीय सांसदलाई विशेषाधिकारको व्यवस्था रहेको उल्लेख छ। 

तर, त्यही धाराको उपधारा ६ मा भने संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन भन्ने उल्लेख छ।  तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन। 

त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ। यदि अदालतमा मुद्दा परेको खण्डमा सांसद पद नै खारेज हुनसक्ने सम्भावना पनि छ। अदालतले यसरी केही सांसदको पद खारेज गरिदिएको नजिर छ। अदालतले सांसद पद नै खारेज गरे उपनिर्वाचन हुनसक्छ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीले एमालेका चर्चित नेता झपट रावललाई ५७४३ मत अन्तरले पराजित गरेका थिए। चौधरीले २१ हजार ७१ मत प्राप्त गरे । एमालेका रावलले १६ हजार १२ मत प्राप्त गरे।   चौधरी ट्र्याक्टर आगाजनीको मुद्दामा २०७० सालमा दोषी ठहर भइ जेल सजाय नभोगेर ‘फरार सूचीुमा थिए। उनी लगायत ३ जनालाई अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो। तर, चौधरी पक्राउ परेका थिएनन्। 

२०६६ मा स्थानीय महादेव बजगाईंको ट्र्याक्टरमा आगो लगाएको कसुरमा उनीलगायत पर्शुराम चौधरी र वीरबहादुर चौधरी दोषी पाइएको जिल्ला अदालत कैलालीले ठहर गरेको थियो। उनीहरुले ट्र्याक्टर चालक साजन चौधरीलाई कुटपिट गरेर पेट्रोल छर्किँदै ट्याक्टरमा आगो लगाएका थिए।  उक्त विषयमा जाहेरी परेपछि उनीहरु तीनैजना बयान दिन अदालत नआएर फरार भएका थिए।  तीनै जना प्रतिवादीहरुका नाममा अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको थियो।