सांसद चौधरीलाई काठमाडौं हुँदै जहाजबाट धनगढी पुर्‍याउने तयारी
2023/02/02, 4:54
 
ss

बाँकेमा पक्राउ परेका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरीलाई काठमाडौँ लैजाने तयारी गरिएको छ। बिहीबार बाँकेमा पक्राउ परेका चौधरीलाई सुरक्षा संवेदनशीलताका कारण काठमाडौँ लगेर त्यहाँबाट कैलालीको धनगढी ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।  सडक मार्गबाट चौधरीलाई कैलाली ल्याउँदा सुरक्षा चुनौती हुन सक्ने भन्दै प्रहरी अधिकारीहरु छलफलमा छन्। 

प्रहरीको नियन्त्रणमा रहेका सांसद चौधरीलाई बाँकेबाट हवाइ मार्ग भएर काठमाडौं लैजाने र त्यहाँबाट हवाइ मार्गमै धनगढी उतार्ने बारेमा छलफल भइरहेको हो। ‘सडक मार्गबाट दूरी लामो हुँदा सुरक्षा चुनौती हुनसक्ने विश्लेषण छ, त्यसैले हवाइ जहाजमा काठमाडौं लगेर धनगढी लैजान सकिन्छ कि भनेर छलफल गरिरहेका छौँ,’ प्रहरी स्रोतले भन्यो, ‘रुट बारेमा अझै निर्णय लिन सकेका छैनौँ, केन्द्रको सर्कलर कुरेका छौँ।’

यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोला बहादुर रावलले बाँकेबाट पक्राउ परेका सांसदलाई कैलाली ल्याउने रुट आफूलाई यकिन जानकारी नभएको बताए।  ‘कुन रुट प्रयोग गर्ने भन्ने केन्द्रबाट सर्कुलर आएको छैन, जस्तो निर्देशन आउँछ त्यहीँ अनुसार सुरक्षा व्यवस्था मिलाउँछौं,’ उनले भने, ‘केन्द्रको निर्देशन कुरिरहेका छौँ।’ कैलाली २ बाट निर्वाचित सांसद चौधरीलाई १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो। 

अदालतको उक्त फैसलाअनुसार कैद सजाय भुक्तान नगरेका चौधरी मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। प्रतिनिधिसभा चौधरीसहित पर्शराम चौधरी र वीर बहादुर चौधरीलाई जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई भराउने फैसला गरेको थियो।  साविकको बलिया गाविस ५ का महादेव बजगाईँले २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको निजी ट्याक्टर जलाएको आरोपसहित २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा मुद्दा हालेका थिए। 

उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनैजनालाई जनही ६ महिना कैद र बिगो असुल्न गर्न आदेश दिएको थियो।  उक्त घटनामा प्रहरीले केही दिन अगाडि मात्रै वीरबहादुरलाई पक्राउ गरिसकेको छ। फरार सूचीमा रहेका सांसद चौधरीलाई पनि प्रहरीले खोजी गरिरहेको थियो।