भारतबाट फर्किएका युवक धनगढीको होटलमा मृत भेटिए
2023/02/02, 5:08
 
ss

१९ माघ, धनगढी । भारतबाट फर्किएका कैलालीका युवक होटलमा मृत अवस्थामा भेटिएका छन् ।  बिहीबार बिहान भारतबाट फर्केका मोहन्याल गाउँपालिका–१ का ३९ वर्षीय प्रकाश घर्तीमगर धनगढी बसपार्कस्थित चन्द्रदीप मिलन बोगटान होटलमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीका अनुसार प्रकाश होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । भारतको रत्नागिरिबाट उनी बिहान ९ बजे होटलमा पुगेका थिए । शौचालयबाट धेरै बेरसम्म नफर्किएपछि उनीसँगै आएका बर्दगोरिया गाउँपालिका बौनियाका छत्रबहादुर चन्दले प्रहरीलाई खबर गरेका थिए । मृतककी श्रीमती गंगादेवी घर्तीमगरका अनुसार प्रकाश गत मंसिरमा कामको खोजीमा भारत गएका थिए ।

बाटोमा भेट भएर सँगै नेपाल फर्किएका छत्रबहादुरका अनुसार भारतमा प्रकाश कार्यरत आपको बगैंचाका मालिकले मानसिक अवस्था ठीक नभएको भन्दै घर पठाएका थिए । यसअघि गंगादेवी पनि श्रीमानसँगै भारतमा काम गर्दै आएकी थिइन् । मृतकका १७ वर्षीय र १२ वर्षीय दुई छोरा छन् ।