कैलाली कारागारका प्रमुखसहित ३० प्रहरीको जिम्मेवारी खोसियो,कारण यस्तो
2023/02/02, 6:03
 
karagar

कैलाली कारागारका प्रहरी प्रमुखसहितका ३० जना प्रहरी कर्मचारीको जिम्मेवारी खोसिएको छ भने जेलरको पनि सरुवा गरिने भएको छ ।

कारागारभित्र लागुऔषधको कारोबार हुने गरेको गुनासो बढेपछि प्रहरीतर्फका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक बासुदेव अवस्थीसहितका प्रहरीलाई फिर्ता बोलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरुको ठाउँमा बिहीबार नै नयाँ प्रहरी कर्मचारी पठाइएको छ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले कारागारको सुरक्षार्थ खटिएको प्रहरी कर्मचारीको जिम्मेवारी खोसेर नयाँ पठाइएको बताए । उनकाअनुसार जेलर नरबहादुर थापाको जिम्मेवारी खोसेर अर्को व्यक्तिलाई पठाउने प्रक्रिया पनि अघि बढेको छ ।

जोशीकाअनुसार जेलर थापाको ठाउँमा अर्को व्यक्ति पठाउन प्रशासनले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले भने नियमित प्रक्रिया अन्तरगत सुरक्षाकर्मी फिर्ता बोलाइएको बताए । प्रहरीतर्फका प्रमुख अवस्थीसहितका सुरक्षार्थ खटिएका ३० जना प्रहरीलाई फिर्ता बोलाउदै उनीहरुका ठाउँमा नयाँ पठाइएको छ ।

प्रहरी वरिष्ठ नायब निरीक्षक चरन बुढाथापालाई कारागारको सुरक्षा प्रमुखका रुपमा खटाइएको डीएसपी जोशीले जानकारी दिए । गत कात्तिकमा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा कैलाली कारागारमा कार्यरत प्रहरी सहायक हवलदार अपिल भाटलाई पक्राउ गरेको थियो । भाट अहिले पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय लागुऔषध कारोबार र सेवन सम्बन्धीको प्रकरण पूरानै भएको बताउदै अहिले नियमित कार्यतालिकाअनुसार सुरक्षाकर्मी हेरफेर गरेको दाबी गरेको छ । तर स्थानीय प्रशासनले भने कारागारमा जेलरकै संलग्नतामा लागुऔषधको कारोबार हुने गरेको गुनासोपछि कारागारालाई व्यवस्थित बनाउन जिम्मेवारी हेरफेर गरिएको बताएको छ ।