नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान
2023/02/03, 1:55
 
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान

कैलाली - नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीलाई कारागार पठाइएको छ। आज कैलाली जिल्ला अदालतमा उनलाई पेस गरिएको थियो। अदालतबाट पूर्जी बुझेपछि उनलाई कारागार चलान गरिएको हो।

झन्डै १३ वर्ष अघि ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा ९ वर्ष अघि उनलाई जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो। उक्त मुद्दामा जिल्ला अदालतले उनलाई ६ महिना कैद सजाय तोके पनि उनी भने फरार थिए।

हिजो बाँकेबाट पक्राउ गरि धनगढी अरुण कुमार चौधरीलाई आज अदालतमा पेस गरिएको हो। बिहीबार बेलुका उनलाई हवाईजहाज मार्फत धनगढी ल्याइएको थियो।

कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी नागरिक उन्मुक्ति पार्टी संसदीय दलका सचेतक समेत हुन्।

आफ्ना सांसदलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले भने आन्दोलन गर्ने चेतावनी दिएको छ। बिहीबार चौधरी पक्राउ परेपछि बौनियामा प्रदर्शन गरिएको थियो। आज कैलालीमा यातायात र बौनिया बजार बन्द गरिने जनाइएको छ।

पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सुनियोजित ढङ्गबाट पक्राउ गरिएको भन्दै तत्काल उनको रिहाइ हुनुपर्ने बताएकी छन्।