धनगढीको छ लेन सडकमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु
2023/02/04, 5:11
 
hggdhgf

 धनगढीको छ लेन सडकमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु गर्न थालिएको छ ।धनगढीको छ लेन सडकमा अढाई करोड रुपैयाँ खर्चेर स्मार्ट सडक बत्ती जडान गर्न लागिएको हो।

छ लेन सडकलाई राति उज्यालो बनाउनुका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ सात किलोमिटर दूरीमा स्मार्ट सडक बत्ती जडान गर्न सुरु गरीएको छ ।वडा नम्बर ३ को मोहनापुल देखि वडा नम्बर १३ को धनगढी विमानस्थल गेटसम्म स्मार्ट सडक बत्ती जडानको कार्य भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार २१६ पोलमा ४३२ वटा लाइट जडान हुनेछन् ।

दुई करोड ६८ लाख रुपियाँ खर्चेर सडक बत्ती निर्माणको कार्य भइरहेको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए ।सेन्सरयुक्त स्मार्ट सडक बत्ती साँझ परेपछि आफै बल्ने र विहान घाम झुल्केपछि आफै निभ्ने जनाइएको छ । सूर्योदय उर्जा प्रालिले ठेक्का पाएर स्मार्ट सडक बत्ती जडानको कार्य गरिरहेको छ । माघ अन्तिमबाट बत्ती बाल्ने गरी बत्ती जडानको कार्य भइरहेको सो कम्पनीले जनाएको छ ।

नेपाल विद्युत प्राधिरण उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको साझेदारीमा धनगढी उपमहानगरपालिकाले स्मार्ट सडक बत्ती जडान गरिरहेको हो । यो बत्ती बलेवाफत उठ्ने विद्युत महसुल धनगढी उपमहानगरपालिकाको कार्यालयले तिर्ने जनाइएको छ ।

स्मार्ट सडक बत्ती जडानले छ लेन सडकमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नुका साथै शान्ति, सुरक्षामा पनि सहयोग पुग्ने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको भनाइ छ । उनले स्मार्ट सडक बत्ती जडानले राति छ लेन सडकको सौन्दर्य पनि बढ्ने उल्लेख गरे ।

छ लेन सडक बनेपछि यो सडकमा कैयौं व्यक्तिले दुर्घटनामा ज्यान गुमाइसकेका छन् । छ लेनमा रहेको डिभाइडर र सडकमा बस्ने छाडा चौपायामा सवारी साधन ठोक्किएर दुर्घटना हुने गरेको छ । डिभाइडरमा ठोक्किएर केही व्यक्तिको ज्यान गएपछि यो सडकमा रहेका त्यस्ता डिभाइडर हटाउनु पर्ने भन्दै धनगढी उपमहानगरपालिकाको कार्यालयले आवाज उठाएको थियो । आइतबारदेखि डिभाइडर हटाउने काम सुरु गरिएको छ ।