गौशालामै गाई भोकै
2023/02/05, 1:18
 
gausala

टीकापुर नगरपालिका–२ मा बनाइएको गौशाला व्यवस्थित नहुँदा यहाँ थुनिएका गाई स्याहार नपाएर मर्न थालेका छन्। नगरपालिकाले लाखौँ रुपियाँ लगानी गरे पनि गाईले खान पाएका छैनन्। गौशालामा करिब आठ सय गाई थुनिएका छन्। तीमध्ये छ सय जति गाई दैनिक रूपमा जङ्गल लगेर डुलाउने गरिएको छ। दुई सय जति थुनेरै राखिएका छन्।

गाउँबाट धपाएर ल्याएका गाईगोरुलाई केही दिन थुनेर राख्ने र दुब्लाएर कमजोर भइसकेपछि जङ्गलतिर लैजाने व्यवस्था मिलाएको छ। भर्खरै ल्याएका गाईगोरुलाई जङ्गल लैजाँदा भाग्ने भएकाले अलिअलि पराल खुवाएर थुनिराख्ने गरिएको गोठालाको भनाइ छ। गौशाला व्यवस्थापनका लागि यस वर्ष २० लाख रुपियाँ बजेट छ। गाई चराउन आठ जना गोठाला राखिएका छन्। जङ्गलमा पनि कर्णालीको बाढी पसेकाले चरन छैन, बालुवा मात्रै छ।

डुलाएर, पानी खुवाएर थुन्ने गरेको गोठाला देवकुमार चौधरीले बताए। गौशालाको बाहिर एक थुप्रो पराल राखिएको छ, जो सबै गाईलाई खुवाउने हो भने एक दिनलाई पनि पुग्दैन। त्यसैले भर्खर ल्याइएका थुनुवा गाईलाई मात्रै खुवाउने गरिएको बताइन्छ। यसअघि जाडोमा मरे पनि अब चिसो हट्दै गएकाले मर्न कम भइसकेको अर्का गोठाला तुलाराम पोखरेलले बताए ।

एक करोड ६० लाख रुपियाँको लागतमा बनेको गोबर ग्यास प्लान्टबाट उत्पादित ग्यास अझै उपभोक्तालाई दिइएको छैन। ग्यास प्लान्टबाट सात महिनाअघिदेखि ग्यास निस्किरहेको छ। स्थानीय ठाकुरप्रसाद चौधरीले भने, ‘मेसिन दैनिक चलिरहेको छ, घरघरमा मिटर, चुला लागेको छ तर गोबर ग्यास तयार भए पनि हामीले पाएका छैनौँ।’