कैलालीका नदी घाटमा ठेकेदारको ठगी
2023/02/06, 1:42
 
ss

कैलालीको नदी घाटमा ठेकेदारले ठगी गरिरहेका छन् । भजनी नगरपालिका–५ स्थित करमदेव घाटमा काठको पुल लगाएका ठेकेदारले सर्वसाधारणसंग बढी शुल्क असुल्दै ठगी गर्न थालेका हुन । पुल वारपार गरेवाफत ठेकेदारले व्यक्तिबाट चर्को शुल्क असुल्न थालेका छन् ।  जुन, नगरपालिकाले तोकेको भन्दा दोब्बर बढी रहेको छ । ठेकेदारले मोटरसाइकलसहित प्रति व्यक्तिको एकतर्फी ३० रुपैयाँ शुल्क लिइरहेका छन् । नगरपालिकाले भने मोटरसाइकलसहित व्यक्तिको १५ रुपैयाँ लिनु पर्ने शुल्क निर्धारण गरेको छ । न

गरपालिकाले उल्लेख गरेको शुल्क माटोले पोतेर ठेकेदारले बढी शुल्क लिइरहेका छन् ।अन्य पुलमा एकतर्फीमात्रै शुल्क लिने गरिए पनि यो घाटमा दोब्बर र दोहोरो शुल्क लिने गरेको ओहोरदोहोर गर्नेहरुको गुनासो छ । हुलाकी राजमार्ग भएर धनगढीसम्म ओहोरदोहोर गर्दा दोहोरो शुल्क तिरेको जानकी गाउँपालिका–८ जबलपुरका अंकर चौधरीले बताए ।

‘म सधैं त्यहि बाटो भएर धनगढी जाने गर्दछु’, उनले भने,‘जाँदा ३० र फर्कदा ३० गरेर ६० रुपैयाँ तिर्दै आएको छु ।’ उहाँका अनुसार जाँदा, फर्कदाको एकमुष्ट तिरेमा ठेकेदारले ५० रुपैयाँ लिन्छन् । स्थानीय प्रदीप कठरियाले पनि ठेकेदारले बढी र दोहोरो शुल्क लिने गरेको गुनासो गरे। 

ठेकेदारले चर्को शुल्क लिन थालेपछि कतिपयले त्यसको विरोध जनाएका छन् । उनीहरुले नगरपालिकाले नै नदीमा काठे पुलको व्यवस्था गरेर घाट व्यापारलाई निरुत्साहित गर्नु पर्ने जोड दिएका छन् । बर्दियाका ।सीताराम थारुले नगरपालिकाले घाटलाई व्यापार बनाउन नहुने बताए । काठे पुल सञ्चालकले चर्को शुल्क लिन थालेपछि त्यसको सामाजिक सञ्जालमा पनि विरोध भइरहेको छ । कर्मदेव घाटमा एक वर्षसम्म डुङ्गा सञ्चालनका लागि वडा नम्बर ५ कै लोकबहादुर कुमाल सहितका पाँच जनाले सामूहिक रुपमा ठेक्का पाएका छन् । एक लाख ५१ हजार ५०० रुपैयाँमा ठेक्का पाएका ठेकेदारले डुङ्गा र काठे पुल सञ्चालन गर्दा ओहोरदोहोर गर्ने सर्वसाधारणबाट चर्को रुपमा शुल्क असुल्दै आएको गुनासो गरिएको छ ।

हुलाकी राजमार्ग अन्तर्गतको सो घाटमा धनगढी, टीकापुर, राजापुरसम्म आउजाउ गर्ने मान्छेको दिनभरि ओहोरदोहोर भइरहने गर्दछ । सोही घाटको तलतिर केही दूरीमा रहेको थेकीपुरस्थित कान्द्रा नदीको पुल बेलैमा निर्माण नहुँदा त्यसको भरपूर फाइदा घाटका ठेकेदारले लिइरहेको सर्वसाधारणको गुनासो छ । पुल निर्माण गर्ने ठेकेदारको चरम लापरवाहीका कारण १२ वर्ष पुगिसक्दा पनि पुल निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

नगरपालिकाले तोकेको भन्दा बढी ठेकेदारले शुल्क लिएको गुनासो सुनिए पनि प्रमाणसहित कसैले पनि जानकारी नगराएको नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष विक्रम चौधरीले बताए । ‘गुनासो सुनियो तर, प्रमाणसहित कसैले पनि जानकारी गराएन’, उनले भने,‘यदि, त्यसरी नै लिइरहेको प्रमाणसहित फेला प¥यो भने उनीहरुको ठेक्का तत्कालै रद्द गर्छौ ।’ 

काठे पुल तर्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि पत्र लेखेर ठेकेदारलाई चेतावनीसमेत दिएको प्रवक्ता चौधरीले जानकारी दिए । सबै घाटमा नगरपालिकाले शुल्क तोकेको बोर्ड पनि राखि दिएको छ । नगरपालिकाले एक किसिमको शुल्क तोके पनि ठेकेदारहरुले भने आफैले निर्धारण गरेर मनोमानी शुल्क लिइरहेको जनाइएको छ ।नगरपालिकाले साउनदेखि असोजसम्म डुङ्गा तरेवाफत प्रति व्यक्ति १०, साइकलसहित व्यक्तिको २०, मोटरसाइकलसहित व्यक्तिको ३० र अटोको ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यो बेला नदीमा पानीको सतह बढी रहने गर्दछ । त्यस्तै, कार्तिकदेखि–असारसम्म व्यक्तिको पाँच, साइकलसहित व्यक्तिको १०, मोटरसाइकलसहित व्यक्तिको १५ र अटोको ४० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

यसैबीच, भजनी नगरपालिकाले चालू आर्थिक वर्षमा आठ वटा घाट ठेकेदारलाई ठेक्कामा दिएको छ ।  नगरपालिकाको आम्दानी बढाउने उद्देश्यकासाथ सो पालिकाले विभिन्न वडामा रहेको घाट ठेक्कामा लगाएको हो । एक वर्षका लागि ठेक्का दिइएको आठ वटा घाटबाट ४७ लाख ३४ हजार ९४२ रुपैयाँ राजस्व उठ्ने सो शाखाका कर्मचारी मिनबहादुर धामीले जानकारी दिए । 
 

नगरपालिकाले वडा नम्बर ५ स्थित कान्द्रा नदीको कर्मदेव घाट एक लाख ५१ हजार ५००, खैरेनी घाट एक लाख सात हजार १२५ रुपैयाँमा ठेक्का दिएको छ । यसैगरी, वडा नम्बर ५ स्थित मोहना नदीको गुलरिया घाट १५ लाख २१ हजार रुपैयाँ, हलौना घाट छ लाख ५१ हजार १५१, ५ स्थित कौवाखेरा घाट पाँच लाख एक हजार रुपैयाँमा ठेक्का दिएको छ । यस्तै, ७ स्थित हिम्मतपुर घाट एक लाख २५ हजार ५००, वडा नम्ब ३ स्थित दैलेखी घाट एक लाख एक हजार र सोही वडाको कुसुम घाट १६ लाख ६६ हजार ६६६ रुपैयाँमा ठेक्का दिएको छ । एक वर्षका लागि फरकरफरक व्यक्तिले घाट ठेक्का पाएको धामीले जानकारी दिए ।