कञ्चनपुरमा बिद्यार्थी आन्दोलित, बलात्कार आरोपी अनाथालय प्रमुखलाई कारवाहीको माग
2023/02/06, 6:19
 
aa

कञ्चनपुरको महेन्द्रनगरस्थीत अनाथालयमा भएको बलात्कार घटनाको सर्वत्र विरोध भएको छ। कञ्चनपुरको महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा नाबालिकमाथि बलात्कारको आरोपमा अनाथालयका कार्यालय प्रमुखलाई कारबाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।

जिल्ला प्रहरी कार्यालयको मुलगेटमा धर्ना दिँदै विद्याथीहरुले पक्राउ परेको अनाथालयका कार्यालय प्रमुख शंकरबहादुर चन्दलाई कडा कारबाहीको माग गरेका छन्। बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्। मानसिक अवस्था स्थीर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय चन्द माथि लागेको छ । दुईवर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित बाल अनाथालयमा बेसहारा १४ वर्षीया ती बालिकाले आश्रय पाएकी थिइन।

यहाँ दुई नाबालिकाले आफूहरुमाथि बलात्कार गरेको प्रहरी समक्ष बयानसमेत दिएका प्रहरी स्रोतको भनाइ छ। एक साताअघि यहाँस्थित समाज कल्याण बाल अनाथालयका एक नाबालिकामाथि पनि अनाथालयमै जबरर्जस्ती करणी गरेको आरोप लागेका कार्यालय प्रमुख चन्द यतिबेला कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। उनले बालिकालाई टिभी हेराउने बाहनामा कार्यकक्षमै लगेर बलात्कार गर्ने गरेको अन्य बालिकाले देखेको कुरो पनि रहेको अनाथालयकै एक कर्मचारीले बताए । बालिका गर्भवती भएपछि चन्दले नै गर्भ तुहाउने औषधि सेवन गराएपछि अत्यधिक रक्तश्राप हुँदा घटना बाहिरिएको उनको भनाई छ।

यता प्रहरीले उक्त घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरी निरीक्षक भरतराज गिरीले आरोपित चन्दलाई हिरासतमा राखी जबरजस्ती करणी मुद्दामा सात दिन म्याद थप गराएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । ‘अन्य कागजात जुटाउनेदेखि घटनाको सबै कोणबाट अनुसन्धान भैरहेको बताएका छन्। बालिकालाई शान्ति पुनःस्थापना गृहको संरक्षणमा राखिएको बताए। माघ १७ गते प्रहरीले बालिकामाथि बलात्कारको सूचना प्राप्त गर्नासाथ चन्दलाई नियन्त्रणमा लिएको थियो। टुहुरा बालबालिकाको आश्रयस्थलमै बालबालिकामाथि संरक्षकबाटै भएका यौन दुव्र्यवहारका घटनाप्रति यहाँ सर्वत्र विरोध भइरहेको छ । महेन्द्रनगरमा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखी बालिकामाथि अभिभावकीय भूमिका निर्वाह गर्ने व्यक्तिबाटै दुव्र्यबहार हुनु निकै असैह्य घटना रहेको नेपाल विद्यार्थी सङ्घकी नेतृ सञ्जु अधिकारीले बताईन्।

विद्यार्थीले बालबालिकाको सुरक्षाको विषयमा सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड पनि दिए। बालिकाको अनाथालयमा रक्तश्राप नभएको भए घटना बाहिर नै नआउने कञ्च विद्या मन्दिरमा स्नातक तहमा अध्ययन प्रकृति भट्टले बताईन् । सामान्य अवस्थामा पनि अनाथालय समितिका पदाधिकारीले बालबालिकाको मनोभावना नबुझ्ने र सुरक्षाको विषयमा सचेत नभएका कारण पनि यस्ता घटना भइरहेको उनले भनिन् ।उनीहरुले महिला तथा बालबालिकाको सुरक्षा र बलात्कारजस्तो जघन्य अपराधमा सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही नगरेसम्म घटना बढ्दै जानेप्रति चिन्ता व्यक्त गरेका छन्। समाज कल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष पूर्णबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गरी बालिकामाथि यौन दुव्र्यवहार गर्ने अपराधीमाथि छानबिन गरी कारबाही हुनुपर्नेमा जोड दिएका छन्। बाल अनाथलयजस्तो पवित्र संस्थामा यसप्रकारको घटना हुनु अतिनै दुख्द विषय भएकाले उक्त घटनाको अनुसन्धानका लागि अनाथालय व्यवस्थापनले प्रहरी प्रशासनलाई पूर्ण सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरेको थियो।