विना विभागिय मन्त्री सरकारी सवारी साधन प्रयोग गर्दै
2023/02/07, 12:47
 
ss

नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशको विना विभागिय मन्त्री हुन सन्तोषकुमारी शर्मा थापा । पुस २८ गते मुख्यमन्त्री राजेन्द्र रावलले उनलाई मन्त्रीमा नियूक्त गरे तर, मन्त्रालयको जिम्मेवारी दिएनन् । मन्त्रालयको जिम्मेवारी समेत नपाएकी सन्तोषकुमारीले सरकारी सवारी साधन प्रयोग गर्दै आईरहेकी छिन् । 

विना विभागिय मन्त्री शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको बागमती प्रदेश ००१ झ ३१८ नम्बरको गाडि प्रयोग गर्दै आएकी छिन् । मन्त्री शर्माले निवासको सुविधा नलिएपनि कुनै बैठक तथा भेटघाटमा जानुपर्दा सो सवारी साधन प्रयोग गरिरहेकी हुन ।मन्त्री शर्मा अहिले घरबाटै सभा, छलफल, कार्यक्रम समुदघाटन, बैठक लगायतमा सहभागि हुन मन्त्रालयको गाडि प्रयोग गरिरहेका छन् ।

विना विभागिय मन्त्रीमा नियूक्त भएका अर्का मन्त्री हुन नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट । उनले पनि मन्त्रालयको जिम्मेवारी नपाएपछि भौतिक पूर्वाधार मन्त्रालयमा रहेको गाडि प्रयोग गरिरहेका छन् । एक कर्मचारीले भने –‘मन्त्रालयको जिम्मेवारी त तोकिएको छैन । तर, दुई मन्त्रीले मन्त्रालयको सवारी साधन प्रयोग गरिरहेका हुन ।’

भट्टलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पनि दिईएको छ । मन्त्री भट्टले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्दै मन्त्री निवास पनि सरसफाई तथा मर्मत गर्न लगाएका छन् । पदले विनाविभागीय भए पनि मन्त्रीहरू जिम्मेवारीसहितको मन्त्रीकै हैसियतमा राज्यस्रोतको निर्वाध उपभोग गरिरहेका हुन् ।

प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नलिएका कारण तीन साता बढी भईसक्दासमेत मन्त्रीमण्डल विस्तार र विना विभागिय मन्त्रीलाई जिम्मेवारी दिन सकेका छैनन् । मुख्यमन्त्री रावलले विश्वासको मत लिएसंगै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

धमाधम मन्त्रालय आवास मर्मत गरिदैं

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियूक्त भएसंगै मुख्यमन्त्री निवास पनि सजिएको थियो । निवर्तमान मुख्यमन्त्री भट्टले उपयोग गरेका सामाग्री हटाएर नयाँ सामाग्रीहरु निवासमा राखिएको हो ।  कार्पेट, खटिया, सुत्न आवश्यक लत्ताकपडा लगायत निवासमा आवश्यक सामाग्रीहरु नयाँ ल्याएर राखिएको एक कर्मचारीले बताए । सबै सामान नयाँ राखिएसंगै मुख्यमन्त्री रावल धनगढीस्थित निवासमा बस्न शुरु गरेका हुन । यद्यपी काठमाण्डौमा भएको प्रदेशको मुख्यमन्त्री निवासमा भने उनी बसेनन । 

काठमाण्डौंमा विभिन्न राजनीतिक दलसंग भेटघाट गर्न पुगेका मुख्यमन्त्री रावलले निवासमा पुरानै सामाग्रीहरु रहेको भन्दै होटलमा आश्रय लिएको एक कर्मचारी बताउँछन् । मुख्यमन्त्रीसंग सभामुख भीमबहादुर भण्डारीले भवन मर्मतसंगै कार्पेट लगायतका आवश्यक सामाग्री नयाँ प्रयोग गरेका छन् ।

विना विभागिय मन्त्री भट्टले भौतिक पूर्वाधार मन्त्रीको निवास सरसफाई, नयाँ सामाग्री व्यवस्थापन गर्न लगायतको निर्देशन दिएका छन् । मन्त्री भट्टको निर्देशन बमोजिम निवासलाई व्यवस्थापन गर्ने कार्य मन्त्रालयले गरिरहेको छ ।