निर्मला हत्या प्रकरणः आशङ्का गरिएका तीन जनाको डीएनए रिपोर्ट नेगेटिभ आयो
2023/02/08, 5:34
 
dd

निर्मला पन्तको हत्यामा संलग्न आशङ्कामा सङ्कलन गरिएका तीन जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको छ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मलाको हत्यामा संलग्न आशङ्कामा केन्द्रीय अनुसन्धान ब्युरोले पाँच जनाको रगतको नमुना सङ्कलन गरेको थियो ।

सङ्कलित नमुना परीक्षण गर्दा तीन  जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले बताए । डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले दुईजना भारतीय नागरिकसहित पाँच जनाको रगतको स्याम्पल सङ्कलन गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो ।

निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भयो । १३ बर्सिया निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १२३ जनाको डीएनए जाँच गरेको छ । तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य छ ।