सुदूरपश्चिममा विश्वासको मत लिने आज अन्तिम दिन, नागरिक उन्मुक्तिका सांसद अझै काठमाडौँमै
2023/02/09, 8:44
 
ss

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । उनले आज अन्तिम दिन पनि विश्वासको मत लिने प्रयास गरिरहेका छन् । हिजो दिउसो १ बजे विश्वासको मत लिने गरि संसद् बैठक आह्वान गरिएको थियो । तर, काठमाडौँमा रहेका नागरिक उन्मुक्तिका सांसद कैलाली नआएपछि बैठक आज दिउसो १ बजे सम्मका लागि स्थगित गरिएको थियो ।

पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुरूप रावलले आज विश्वासको मत लिन लागेका हुन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले सम्म एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भएपनि सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने मत नदिने सङ्केत गरेको छ । उनीहरुले आफ्नो माग र मुद्धा सम्बोधन नभएसम्म विश्वासको मत दिन नसकिने अडान कायमै राखेका छन् ।

नागरिक उन्मुक्तिका ७ सांसदले विश्वासको मत नदिए मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्ने छैनन् । नागरिक उन्मुक्तिका सबै सांसद अहिले काठमाडौँमा छन् । उनीहरु आजको प्रदेश सभा बैठकमा सहभागी हुने वा नहुने भन्नेमा पनि निश्चित नरहेको बताइन्छ । सुदूरपश्चिममा सत्ता गठबन्धन भित्र माओवादीका ११ ९सभामुख सहित०, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी सबैको मत मुख्यमन्त्री रावलले प्राप्त गरे बहुमत पुष्टि हुने छ । तर, नागरिक उन्मुक्तिले विश्वासको मत नदिने अडान कायमै राखेको हुँदा मुख्यमन्त्री सङ्कटमा पर्ने सङ्केत देखिएको छ ।

यता नेकपा एमालेका सांसदहरू भने सरकारले विश्वासको मत पाउनेमा विश्वस्त छन् । संघीय सरकार नागरिक उन्मुक्तिको माग सम्बोधन गर्न सकारात्मक रहेको र प्रक्रिया अघि बढिसकेको हुँदा विश्वासको मत प्रदेश सरकारले पाउने एमालेको दाबी छ ।  ‘सरकार उहाँहरूको मुद्धामा गम्भीर रहेको र प्रक्रियामा गइसकेको कुरा उहाँहरूलाई पनि थाहा छ’ नेकपा एमाले प्रदेश सचिव समेत रहेका प्रदेश सांसद धर्मराज पाठकले भने, ‘सरकारले विश्वासको मत पाउँछ भन्नेमा हामी विश्वस्त छौँ ।’