उद्योगमन्त्री भण्डारी भन्छन्– सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले  साथ दिन्छ
2023/02/09, 12:12
 
ss

नेकपा एमालेका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव पेस गर्दा नागरिक उन्मुक्ति पार्टीले सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। 

मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने तयारी छ। तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतको सन्दर्भमा स्पष्ट निर्णय नगर्दा मुख्यमन्त्री रावल नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कमजोर बनेको छ। 

नागरिक उन्मुक्ति पार्टीसहित प्रदेश सभामा प्रतिनिधित्व गर्ने अरु दल तथा सांसदसँग छलफल गर्न मन्त्री भण्डारीसहित सत्तारुढ एमालेका केन्द्रीय नेताहरु धनगढीमा छन्।  बिहीबार पार्टीनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले भने, ‘सुदूरपश्चिम प्रदेश सरकार सत्ता गठबन्धनकै हुन्छ। यो कुरामा सबैलाई ढुक्क हुन अग्रह गर्दछु।’

विश्वासको मतका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सांसदहरु काठमाडौंमा रहेकोबारे सोधिएको प्रश्नमा मन्त्री भण्डारीले प्रदेश सभा बैठक सुरु हुनु अगाडि सांसदहरु धनगढी आइपुग्ने बताए। 

‘काठमाडौंदेखि धनगढी सम्मको हावाई दुरी १ घण्टाको छ। विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टीका सांसदहरु सहभागी भइहाल्नुहुन्छ,’ भण्डारीले भने।  

५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा ९एकीकृत समाजवादी०का ४ र १ स्वतन्त्र सदस्य छन्। 

सावल मुख्यमन्त्री नियुक्त हुँदा भने नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन जनाएको थियो। मुख्यमन्त्रीमा दाबी पेस गर्दा रावललाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन थियो।  रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।