समाजवादीलाई अढाई वर्ष मुख्यमन्त्री दिने सत्तापक्षको अफर
2023/02/09, 12:24
 
dd

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि सङ्कटमा परेको सुदूरपश्चिम प्रदेश सरकार जोगाउने अन्तिम कसरत गरिरहेको नेकपा एमालेले नेकपा समाजवादीलाई अढाई वर्ष मुख्यमन्त्री लिएर सरकारलाई समर्थन गर्न आग्रह गरेको छ । 

समाजवादीका नेताले भने एमालेको अफर अस्वीकार गरेको बताइएको छ ।समाजवादीले समर्थन गरे पनि सरकार जोगाउन आवश्यक पर्ने सांसदको सङ्ख्या भने पुग्ने अवस्था छैन । त्यसका लागि सभामुखलाई समेत हटाउन सत्तापक्ष तयार भएको छ । सभामुखले मतदान गर्न पाउदैनन । 

माओवादी केन्द्रका १०, नेकपा एमालेका १०, समाजवादीका चार, राप्रपा र स्वतन्त्रका एक र एक जना सांसद र सभामुखबाट भीम बहादुर भण्डारीलाई समेत हटाएर सरकार जोगाउन २७ जना सांसद पु¥याउने एमालेले कोसिस गरेको स्रोतले बतायो ।

सरकार जोगाउने उद्देश्यले उद्योग मन्त्री दामोदर भण्डारी बुधवार साँझ धनगढी आइपुगेका थिए । राति अवेरसम्म नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको घरमा मुख्यमन्त्री सहित नेकपा एमालेका नेताहरूको बैठक बसेको थियो । 

त्यहीबाट नेकपा एमालेका नेताहरूले समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, स्वतन्त्र सांसद डा। तारा जोशीलाई एमालेका नेताहरूले टेलिफोन मार्फत सरकारमा सहभागी हुन अफर गरेका थिए ।

नेकपा एमालेका नेताले सरकारलाई समर्थन गरे वाफत डा। जोशीलाई मन्त्री बनाउने आश्वासन दिएको स्रोतले बतायो ।नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले कसैलाई मुख्यमन्त्री आश्वासन नदिइएको बताए ।

तर नेताहरुकाबीचमा कुराकानी भएको भने पाठकले स्वीकार गरे ।मुख्यमन्त्रीले आज साँझ ५ बजेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ । आज विश्वासको मत लिन नसके मुख्यमन्त्री स्वतः पदबाट हट्नेछ ।