प्रदेशसभा भवन पुगे मुख्‍यमन्त्री रावल, विश्वासको मत लिँदै
2023/02/09, 4:36
 
dfdg

सुदूरपश्चिम प्रदेशसभाको बैठकका लागि सांसद तथा मुख्‍यमन्त्री राजेन्द्रसिंह रावल प्रदेशसभा स्थल पुगेका छन्। चार बजेका लागि बोलाइएको प्रदेशसभा बैठक केहीबेरमा सुरु हुँदै छ। सरकार जोगाउन आजको बैठकमा मुख्‍यमन्त्री रावलले  विश्वासको मत लिनैपर्ने  अवस्था छ। तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएसँगै बैठक हिजोदेखि दुईपटक सर्दै आएको थियो।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो। उनी एकमहिनाअघि अन्य दलहरूको समर्थनमा मुख्‍यमन्त्रीमा नियुक्त भएका थिए। मुख्‍यमन्त्री नियुक्त भएको एकमहिनाभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिन नसके सरकार ढल्छ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिएमा वा गठबन्धन फेरबदल नभएमा यहाँ मुख्‍यमन्त्री रावललाई बहुमत नपुग्ने अंकगणित छ। रावलले विश्वासको मत लिन नसकेमा आजैबाट प्रदेश सरकार कामचलाउ बन्नेछ। त्यसपछि संवैधानिक व्‍यवस्थाअनुसार ठूलो दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व पाउनेछ। यद्यपि, यसरी बनेको सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११ (सभामुखसहित), एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन्। नाउपाले विश्वासको मत नदिएको अवस्थामा सरकारलाई बहुमत (२७) पुग्दैन।