बैतडीको पाटन हवाई सेवा १० महिनादेखि बन्द
2023/02/09, 5:03
 
gfhhf

बैतडीको पाटन विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द छ। धनगढी–बैतडी–धनगढी साप्ताहिक रुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द भएको हो। हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ। ११ करोडको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा बैतडीबाट आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन्। 

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियोे। गत चैत १० गते अन्तिम पटक उडान भएको थियो। हवाई सेवा पुनः सञ्चालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त भट्टले बताए। आगामी फागुनमा उडान हुनसक्ने भनिए पनि आधिकारिक जानकारी नआएको भट्टले बताए।

पाटनदेखि १८ मिनेटको हवाई यात्रा रहेको धनगढीको भाडा पाँच हजार छ। हवाई सेवा बन्द हुँदा आकस्मिकरुपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातल लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए।

भाडा पनि महँगो भएकाले घटाएर नियमितरूपमा आउनुपर्ने उनले बताए। सुदूरपश्चिमकै दोस्रो ठूलो पाटनमा रहेको विमानस्थल हो। पाटन विमानस्थल २६ वर्षपछि २०७७ मा पुनःसञ्चालनमा आएको थियोे। २०३६ देखि सञ्चालनमा आएको पाटन विमानस्थल २०५१ देखि भने बन्द थियो।