कमल शाहलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी
2023/02/09, 6:20
 
dfhgvk

सुदूर पश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आजै नेपाली काँग्रेसका संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीको पदमा नियुक्त गर्ने भएका छन् । प्रदेश प्रमुख जोशीले सुदूर पश्चिम प्रदेश सभाको सचिवालयबाट मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएर बहुमत गुमाएको जानकारी पत्र दिएपछि आजै मुख्यमन्त्रीमा शाहलाई नियुक्त गर्ने बताए ।

उनले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख समक्ष राजिनामा पेश गर्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री नियुक्त भएको ३० औं दिनमा रावलले बहुमत गुमाएपछि उनीसंगै सत्ता गठबन्धन दलहरु सरकारबाट बाहिरिएका छन् । प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु उपस्थित नभएपछि मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत गुमाएका छन् । नागरिक उन्मुक्ति पार्टीसंग सात जना सांसद रहेका छन् । यसअघि नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री रावलको पक्षमा एमालेका १०, माओवादी केन्द्रका १० र राप्रपाका एक गरी २१ जनाले मात्र मतदान गरे । विश्वासको मत प्राप्त गर्न २७ जना सांसदको समर्थन आवश्यक पर्छ ।