भारतबाट फर्किएका सुदूरपश्चिमेलीको चिन्ताः ‘अब, परिवार कसरी पाल्ने ?’
2020/06/30, 6:42
 
korona

नवदुर्गा गाउँपालिका–५ डडेल्धुराका शेरबहादुर विक छ वर्षअघि सहज जीवनयापनको खोजी गर्दै सपरिवार भारत भाँसिए । चुहिने घरको छानो कहिल्यै टाल्न सकेनन् । परिवारलाई भरपेट खुवाउन सधैँ हम्मेहम्मे परिरह्यो उनलाई । गरिबीले थलिएको जिन्दगीका अनेकौ पीडाको मल्हम खोज्दै गाउँको माया मारेर सातजनाको परिवार बोकेर हिँडेका थिए उनी । ‘न कमाईखान जमिन थियो । न कुनै अन्य आयस्रोत ! नेपालमा काम नपाईने त्यसैले उतै परिवार बोकेर हिँडेको थिए,’ उनी सम्झन्छन् ।

मुम्बईमा जेनतेन परिवार पालेकै थिए । ‘ठिकठिकै थियो । बालबच्चा पढाउन, बसेको खोली (कोठा) भाडा तिर्न, भरपेट खान पुगेकै थियो,’ उनले भने,‘अहिले कोरोना आएर सब बर्बाद बनायो ।’ कोरोना महामारी सुरु भएपछि मालिकले नोकरी सकिएको भनेर खबर गरेपछि परिवार बोकेर नेपाल फर्कनुपरेको बाध्यता सुनाए । ‘अन्त कतै नोकरी पाउने छाँटकाँट थिएन् । आफुसंग भएको पैसा सकिएको थियो । ५० हजार ऋण मागेर परिवार बोकेर आए,’ उनले सुनाए । नेपाल पुगेपछिको उनको पीडा अझ बिकराल छ । २१ दिन क्वारेन्टीन बसेर घर पुग्दा उनले घर पुरै भत्किसकेको अवस्थामा फेला पारे । उनले दुखेसो गरे,‘कहाँ बस्ने छाँगाबाट खसेझैँ भए । धन्न काकाले शरण दिनुभयो । सातजनाको ठुलो परिवार उहाँको घरमा बसिरहेका छौ । उनकै छोराले दिएको रासन खादैँछौ ।’ अब उनलाई खानाको चिन्ता छ । ‘काकाको घरमा सधैँ बस्न सकिदैन् । कहाँ बस्ने ? के खाने ? कसरी बाँँच्ने केही सोच्नै सकिरहेको छैन,’ उनले भने ।

पूर्वीचौकी गाउँपालिका–१ डोटीका गणेश बिकको पीडा पनि उस्तै छ । १३ वर्षको छँदा बुवा गुमाए । घरको जेठो छोरा भएकाले सबै जिम्मेवारी टाउको प–यो । परिवारको अन्नपातको जोहो गर्न धौधौ पर्नथाल्यो । त्यसपछि छ वर्षअघि १४ वर्षको उमेरमा पढाई छाडेर नोकरीका लागि भारत गए । भारतबाट पठाएको पैसाले छजनाको परिवार जसोतसो पाल्दै थिए । कोरोनाले उनको त्यो क्रमलाई खल्बल्याईदिएको छ । ‘स–साना भाइबहिनी छन् । आमा खास्सै काम गर्न सक्दिनन् । भारतको कमाईले परिवार धानेको थिए,’ उनले भने,‘उताबाट हात धोएर घर फर्कनुप–यो । अब के गर्ने केही सोच्न सकिरहेको छैन् । दुईतिन महिना यसैगरी घरमा बस्नपरे । भोकभोकै मरिन्छकी भन्ने चिन्ता लाग्न थालेको छ ।’

उस्तै चिन्ता बडीकेदार गाउँपालिका–५ डोटीका करन नेपालीसंग पनि छ । ‘भारतकै नोकरी गरेर ११ जना परिवार पाल्दैआएको थिए,’ उनले भने,‘उताबाट त फर्कनुप–यो । फेरी कहिले जानपाईन्छ ? थाहा छैन् ! यहाँ काम पाईदैन् । कसरी जीवन चलाउने हो ? सोचीसोची मन खाईरहन्छ ।’ अब नेपालमै सरकारले राहत, सहुलियत र रोजगारको व्यवस्था गर्नुपर्ने मुम्बईबाट फर्किएका कैलालीको गोदावरी नगरपालिका–८ का प्रकाशबहादुर बमले बताए । ‘सरकारले नहेरे त हामी र हाम्रा परिवार भोकभोकै मर्छौ,’ उनले भने,‘सरकारले हाम्रो पीडा बुझोस् ।’ उपर्यूक्त कथाहरु भारतमा मजदुरी गरेर परिवार पाल्ने सुदूरपश्चिमेली युवाहरुका यतिबेलाका साझा कथाहरु हुन् । अहिले सुदूरपश्चिमका गाउँवस्तीहरु व्यक्तीपिच्छे यस्ता तमाम र उस्तै उस्तै प्रकृतिका कथाहरु सुन्न पाईन्छ ।

नोवेल कोरोनाभाईस (कोभिड–१९) विश्वव्यापी संक्रमण, विशेषगरी भारतमा संक्रमण बढेपछि लाखौ युवाहरु बेरोजगार हुँदै नेपाल फिरेका छन् । उनीहरु फेरी पूर्ववत् कहिले काममा फर्कने ? केही एकिन छैन् । नेपालभित्रै काम गर्नका लागि अवसर छैन् । खेतीपाती गर्न जमिन र स्रोतसाधन र प्रबिधि छैन् । जसले ती युवाहरुमा परिवार पाल्ने चिन्ता बढ्न थालेको छ ।

लाखौ युवा भित्रिए
कोभिड–१९को प्रकोप बढ्दै गएपछि र भारतमा बेरोजगार भएपछि सुदूरपश्चिममा लाखौ युवा भित्रिएका छन् । सरकारी तथ्याङ्कमा समेटिएकाहरुमा चैतयता कैलालीको गौरिफण्टा नाकाबाट ८७ हजारभन्दा बढी भित्रिदा कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक लाख २५ हजारभन्दा बढी भित्रिएको ती जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् । यस्तै दार्चुला जिल्लाको नाकाबाट एकहजार सातसय २२ जना भित्रिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । यसबाहेक तथ्याङ्क संकलनमा छुटेका, लकडाउनमा चोरीछिपी नाकाहरुबाट भित्रिएकाहरु पनि ठुलो संंख्यामा रहेको जानकारहरु बताउँछन् ।


‘भोकमरीप्रति सरकार सचेत हुनुपर्छ’
यसरी भारतबाट लाखौको संख्यामा युवाहरु भित्रिदा आम्दानीको स्रोत बन्द हुने भएकाले व्यापक भोकमरीको बढ्नसक्ने सार्वजनिक चिन्ता बढ्नथालेको छ । ‘भारतबाट कमाएको पैसाले अन्न किनेर परिवार पाल्नेहरु सुदूरपश्चिम प्रदेशमा धेरै छन्,’ नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवा भन्छन्,‘जो कमाउथे, उनिहरु बेरोजगार भएर घर फर्किए । यता कमाउने ठाउँ छैन् । न फलाउने जमिन यस्तोमा भोकमरी बढ्नसक्ने खतरा व्यापक छ ।’ यसविषयमा सरकार समयमै गम्भिर भएनभने ठुलो संकट निम्तनसक्ने उनले बताए ।

संस्कृतिविद् एवम् प्राध्यापक डा. बद्री शर्मा विनाडी यस विषयमा सरकारले अहिलेदेखी नै गृहकार्यमा जुट्नुपर्ने बताउछन् । ‘स्थानीय तहले गाउँमा भित्रिएकाहरुको आर्थिक सर्वेक्षण सुरु गरिहाल्नुपर्छ,’ उनले भने, ‘त्यसपछि उनीहरुको अवस्था, उनीहरुसंग भएको सीप र दक्षता आदीका आधारमा उपयूक्त कार्यक्रम ल्याएर सबै तहका सरकार जुट्नुपर्छ ।’ संगै खाद्यान्नको उपलब्धताका विषयमा पनि सरकार चनाखो भएर बस्नुपर्ने उनले बताए ।  (फ्रिडम फोरमको सहकार्यमा तयार गरिएको रिपोर्ट)