प्रधानमन्त्री प्रचण्ड भोली सुदूरपश्चिम आउँदै,मेडिकल कलेज निरीक्षणदेखि जनयुद्ध दिवससम्मका कार्यक्रममा सहभागी हुने
2023/02/12, 2:12
 
ss

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेश आउन लागेका छन् । भोली हेलिकप्टर मार्फत प्रचण्ड करिब १० बजे कैलाली पुग्ने छन् । कैलालीको गेटामा रहेको मेडिकल कलेजको निरीक्षण गर्ने प्रधानमन्त्रीको पहिलो कार्यक्रम रहेको छ । अरबौँका संरचना निर्माण भएर पनि सञ्चालन हुन नसक्नुको कारण पहिचान गर्ने र सञ्चालनको लागि वातावरण निर्माण गर्ने उद्देश्यले प्रधानमन्त्रीले भोली मेडिकल कलेजको निरीक्षण गर्न लागेका हुन् ।

त्यस लगत्तै प्रधानमन्त्री महेन्द्रनगर प्रस्थान गर्ने छन् । महेन्द्रनगरमा खाना खाने र त्यसपछि सुख्खा बन्दरगाहको निरीक्षण गर्ने कार्यक्रम तयार गरिएको छ।सुख्खा बन्दरगाहको निरीक्षण पछि महेन्द्रनगरमा भोली देखी सुरु हुन लागेको महोत्सव प्रधानमन्त्रीले उद्घाटन गर्ने छन् । त्यस लगत्तै पार्टी जिल्ला कमिटीले जनयुद्ध दिवसको आसवरमा आयोजना गरेको कार्यक्रममा प्रचण्ड सरिक हुने छन् । एकै दिनका यी चार कार्यक्रम सम्पन्न गरेर प्रचण्ड भोलीनै काठमाडौँ फर्किने कार्यतालिका रहेको माओवादी प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सवले जानकारी दिए ।