गेटा मेडिकल सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाईने
2023/02/12, 2:15
 
ss

गेटा मेडिकल विश्वविद्यालय अभियान अत्तरियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ। फागुन १ गते सुदूरपश्चिम आउन लागेका प्रधानमन्त्री प्रचण्डलाई गेटा मेडिकल विश्वविद्यालय अभियानले ज्ञापन पत्र बुझाउन लागेको हो। गेटा मेडिकल विश्वविद्यालय अभियान अत्तरियाले लामो समय देखि गेटामा प्रस्तावित मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै विभिन्न सघर्षका कार्यक्रम गर्दै आइरहेको छ।

अभियानका सचिव धर्म सिह कुवरले प्रधानमन्त्री प्रचण्डलाई प्रतास्वित गेटा मेडिकल कलेजको स्थलगत अवलोकन गराउने कार्यक्रम रहेको बताए। महेन्द्रनगर स्थित खुुला मञ्चमा १४ औँ संस्करणको सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न सुदूरपश्चिम आउने क्रममा प्रधानन्त्री प्रचण्डलाई गेटा मेडिकल कलेजको अवलोकन गराइने उनले बताए। सो क्रममा प्रधानमन्त्री प्रचण्डले दोधरा चादनी सुख्खा बन्दरगाह निमार्ण स्थल, मझगाउँ विमानस्थल र दैजीछेला औद्योगिक क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

यस्तै, सुदूरपश्चिमबाट संघीय संसदको प्रतिनिधि र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद प्रस्तावित मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने बताएका छन्। उनीहरुले मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन एकवद्ध भएर दबाब सृजना गर्ने बताएका छन्। संघीय राजधानी काठमाडौँमा भएको छलफलमा एकताबद्ध भएर गेटा मेडिकल कलेजलाई देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन दबाब सृजना गर्न सहमत भएको पूर्वसांसद डा। दीपक प्रकाश भट्टले बताए।

काठमाडौँमा उपलब्ध रमेश लेखक, एनपी साउद, नारायण मिश्र, गंगाराम चौधरी लगायत सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने ७ दलकै सांसदहरुले छलफलमा गरेका थिए। भट्टकै पहलमा सांसदहरुसंग छलफल गरिएको हो।गेटामा संघर्ष समिति नै गठन गरेर चिकित्सा विश्वविद्यालय बनाउनु पर्ने भन्दै अभियान नै अगाडि बढेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन १ गते सुदूरपश्चिम आउने कार्यक्रम रहेकोले सो क्रममा गेटा मेडिकल कलेजको निरीक्षण गराएर विश्वविद्यालय बनाउन ध्यानाकर्षण गराउने पूर्वसांसद भट्टले बताए।

प्रधानमन्त्री कञ्चनपुर आउँदा गेटाको अवस्थाको अपडेट गराउने र विश्वविद्यालय स्थापनाको माग सम्बोधनका लागि ध्यानाकर्षण गराउने बताए । त्यसअघि प्रधानमन्त्री दाहाललाई भेटेर यसबारेमा छलफल गर्ने समेत उनले बताएका छन् । प्रस्तावित गेटा मेडिकल कलेजका अधिकांस भौतिक संरचना निर्माण भइसकेका भएपनि अझै पनि कुन मोडालिटिमा संचालन गर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।