धनगढी आयल निगमको भण्डारण क्षमता बढेन
2023/02/13, 11:50
 
nigam dhangadhi

 अत्यावश्यक बस्तु ९० दिनसम्म पुग्ने गरेर भण्डारण हुनु पर्ने मान्यता छ । तर निक्कै महत्वपूर्ण मानिने धनगढीस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयसंग बढीमा पाँच दिनसम्म वितरण गर्ने गरेर पेट्रोलियम पद्धार्थ भण्डारण गर्ने क्षमता रहेको पाइएको छ । 

धनगढीको मुख्य बजारमा पेट्रोलियम भण्डारण गृह छ जग्गा पनि आवश्यक्ता भन्दा धेरै कम डेढ विगाहा मात्र छ त्यसैले ९० दिनसम्म पुग्ने गरेर पेट्रोलियम पद्धार्थ भण्डारण गृह बनाउने गरेर काम गर्न सकेका छैनो प्रादेशिक कार्यालयका प्रमुख रामकुमार न्यौपानेले बताए ।

खास गरेर नाकावन्दी, प्राकृतिक विपत्ति लगायत समस्याको सामना गर्नका लागि ९० दिनसम्म अत्यावश्यक बस्तु भण्डारण हुनु पर्ने मान्यता छ । अर्कोतिर बढ्दो जनसंख्यालाई ध्यान दिएर पनि भण्डारण क्षमता बढाउनु आवश्यक रहेको उपभोक्ता हकहीत संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष धनपति ढंगेल बताए ।

प्रादेशिक कार्यालयका प्रमुख रामकुमार न्यौपानेका अनुसार कैलालीकै गोदावरी नगरपालिका खुटिया नदी नजिकैको एक सामुदायिक वनमा १२ विगाहमा आयल डिपो बनाउने कुरा भएको छ तर त्यो जग्गा प्राप्त गर्न कठिनाइ भएको छ ।

त्यो जग्गा पाउदा ९० दिन भन्दा बढीका लागि समेत पेट्रोलियम पद्धार्थ भण्डारण गर्न सकिन्थ्यो प्रमुख न्यौपानेले भने, तर उद्योग, वाणिज्य तथा आपूर्ति र वन तथा वातावरण मन्त्रालयमा द्रत गतिमा जग्गा प्राप्तीको काम अगाडि बढ्न सकेको छैन ।

आयल निगमसंग अहिले ६३ हजार लिटर हवाइ इन्धन, १६ लाख ३५ हजार लिटर डिजल, आठ लाख ३० हजार पेट्रोल, ७७ हजार लिटर मट्टितेल भण्डारण गर्ने क्षमता छ । त्यो पेट्रोलियम पद्धार्थ सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका ८७ पेट्रोल पम्पबाट वितरण हुँदै आएको छ ।

ती मध्ये सबैभन्दा बढी कैलालीमा ५३ वटा पेट्रोल पम्प रहेका छन् । धनगढीस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयले गत वर्ष साढे १६ अर्व रुपियाँको कारोवार गरेको थियो ।

समयानुकुल सुधार हुँदै

धनगढीमा सँधै पेट्रोलियक पद्धार्थ बोक्ने ट्यांकर राख्ने ठाउँ बारे विवाद हुँदै आएको थियो तर त्यो समस्या भने सभाधान भएको सो कार्यालयले जनाएको छ । पहिले आयल निगम अगाडिको सडकमा ट्यांकर राख्दा जोखिम पनि थियो, सडकमा अरु सवारी साधनलाई पनि आवतजावत गर्न गाह्रो थियो अहिले नेपाल खाद्य व्यापार कम्पनी लिमिटेडको भन्सार रोडमा रहेको जमिनमा ती ट्यांकर राख्ने व्यवस्था मिलाएको प्रादेशिक प्रमुख न्यौपानेले बताए ।

सुदूरपश्चिममा ८० वटा ट्यांकर सञ्चालनमा छन् । प्रमुख न्यौपानेका अनुसार आगलागी जस्ता जोखिम ट्यांकरबाटै बढी हुने भएकोले ट्यांकरको अवस्था बारे अनुगमन गर्ने र आवश्यक मर्मत सम्भारका लागि सुझाव दिइने व्यववस्था मिलाइएको छ ।

पहिले निगमको पेट्रोलियम पद्धार्थ भण्डारण गर्ने ठाउँमा आगलागी नियन्त्रण गर्ने फम थिएन अहिले त्यसको पनि व्यवस्था रहेको सो कार्यालयले जनाएको छ। यद्यपी नयाँ नयाँ टेक्नोलोजीहरु फायर डिक्टेटर, स्मोक डिक्टेटरको पनि आवश्यक्ता रहेको निगमका प्रादेशिक प्रमुख न्यौपाने बताए । फायर डिक्टेटरले आफै आगो निभाउछ भने स्मोक डिक्टेटरले चुरोट जस्ता ध्रुमपान गरिने चीजहरु बाल्दा पनि थाहा पाएर साइरन बजाउछ ।

उहाँका अनुसार आगो निभाउन प्रभावकारी मानिने फम सहितको दमकल दिनका लागि केन्द्रमा माग गरिएको छ । निगमसंग अहिले सात जनाको फायर फाइटिंग टोली र फम सहितको वाटर हाइड्रेड रहेको छ । 

यस्तै गरेर डिलरहरुले भुक्तानी गर्नका लागि बैंक पुग्नु पर्ने झंझट पनि निगमले गत वर्षदेखि अन्त्य गरेको छ । अव अनलाइनबाटै कनेक्ट आइपीएसबाट भुक्तानी गर्न सकिन्छ, सो जानकारी निगमका कहाँ पुग्छ अनि मात्र पेट्रोलियम पद्धार्थ पठाइन्छ सो निगमले जनाएको छ ।

पेट्रोलियम पद्धार्थको विक्री घटदै

नेपाल आयल निगमको प्रादेशिक कार्यालय धनगढीका अनुसार गत वर्षको तुलनामा पेट्रोलियम पद्धार्थको विक्री घटेको छ । निगमका प्रादेशिक प्रमुख न्यौपानेले गत वर्षको तुलनामा पेट्रोलको विक्री १५ प्रतिशतले र डिजल ४३ प्रतिशतले घटेको बताए ।

उहाँले आर्थिक मन्दीले भौतिक पूर्वाधार निर्माणमा कमी आएका कारण पेट्रोलियम पद्धार्थको विक्री घटेको बताए । पेट्रोलियम पद्धार्थको विक्रेता डिलरका केही सञ्चालकका अनुसार भने विगतमा भारतमा पेट्रोलियम पद्धार्थको मूल्य कम रहेकोले खुला सिमानाको फाइदा उठाएर नेपालबाट पेट्रोलियम पद्धार्थ लुकिछिपी भारततर्फ लैजाने गरिएको थियो । तर यसपटक नेपालमा पेट्रोलियम पद्धार्थको मूल्य बढी भएकोले विक्री घटेको हो ।

अघिल्लो वर्ष नेपालको तुलनामा भारतमा २५ रुपियाँसम्म पेट्रोलियम पद्धार्थको मूल्य बढी थियो भने यसपटक नेपालमा भारतको तुलनामा १५ रुपियाँ बढी छ । सुदूरपश्चिममा अहिले दैनिक एक लाख लिटर पेट्रोल र दुई लाख लिटर डिजल विक्री हुने गरेको छ । -गाेरखापत्र