गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन प्रक्रिया सुरू भइसक्योः प्रधानमन्त्री प्रचण्ड
2023/02/13, 12:39
 
pm nepal

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गेटामा मेडिकल विश्व विद्यालय बन्ने देशकै लागि गाैरवकाे विषय भएको बताएका छन्। आज कैलालीको गेटामा निर्माण गरिएका संरचनाको निरीक्षणपछि उनले यस्तो बताएका हुन्। 

साेमबार बिहान ११ बजे सेनाको हेलिकप्टरबाट धनगढी पुगेका दाहालले मेडिकल विश्वविद्यालयमा भएको भाैतिक निर्माणबारे जानकारी लिएका थिए। उनले सरकारले निर्णय गरेसँगै गेटामा अब मेडिकल कलेज र विश्वविद्यालय पनि सञ्चालन प्रक्रिया सुरू भएको बताए। 

'मेडिकल कलेज  सञ्चालनको प्रक्रियामा गइसक्याे, दरबन्दीकाे केही समस्या छ, यसलाई समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई भनिन्छ,' उनले भने।  मेडिकल कलेजमात्रै हाेइन, यसलाई विश्वविद्यालय बनाउने सुझाव सबैबाट आएको उनले बताए।

सुझाव आएपछि विश्वविद्यालयका रूपमा लैजानु आफ्ना लागि पनि  खुसी र गाैरवकाे कुरा भएको दाहालले बताए।  'याे देशका लागि पनि गाैरवकाे कुरा हाे कि पहिलो मेडिकल विश्वविद्यालय बन्दैछ, हिजाे निर्णय भयाे, अब व्यवहारिक रूपमा पनि तीव्र भएर जान्छ,' उनले भने। 

पहिलाेचाेटि प्रधानमन्त्री हुँदा केही काम गरेको बताउँदै उनलेे अहिले प्रदेश स्तरका याेजनाहरूकाे अनुगमन सुदूरपश्चिमबाटै गर्न पाएकाे बताए। प्रस्तावित मेडिकल कलेजलाई आइतबारको मन्त्रिपरिषद् बैठकले मेडिकल विश्वविद्यालय बनाउन सैद्धान्तिक सहमति दिएको छ। शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नाम राख्ने गरी आइतबार मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक निर्णय गरेको थियो।