प्रधानमन्त्री प्रचण्ड, कैलालीका आयोजनाको निरिक्षणपछि कञ्चनपुर जाँदै
2023/02/13, 1:18
 
pm nepal

सुदूरपश्चिम प्रदेश भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् । कैलाली र कंचनपुरका विभिन्न कार्यक्रममा सहभागिताका लागी आज बिहान प्रधानमन्त्री प्रचण्ड धनगढी पुगेका हुन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहाल पहिलो पटक सुदूरपश्चिमको भ्रमण गर्न लागेका हुन्।

प्रधानमन्त्रीले कैलाली र कञ्चनपुरका ठूला विकास योजनाको अनुगमन निरीक्षण गर्ने कार्यक्रम तय गरेका छन्। धनगढी एयरपोर्टबाट प्रधानमन्त्रीले गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाको निरीक्षण गरेका छन्। प्रधानमन्त्री दाहालले यसपछि आजै कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको स्थलगग निरीक्षण गर्ने छन् । त्यसपछि महेन्द्रनगरको खुलामञ्चमा हुने १४औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको दाहालले उद्घाटन गर्ने छन्।

यस्तै नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’ को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न दाहाल सो कार्यक्रममा पुग्ने छन्। प्रधानमन्त्रीको कैलालीको एयरपोर्ट देखि कंचनपुरसम्मको करिब ६० किलोमीटर सडक यात्रा हुनेछ । प्रधानमन्त्री आजै काठमाडौ फिर्ता हुनेछन् । प्रधानमन्त्री दाहाल कैलाली र कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।