बैतडीको पाटनमा भण्डार गृह निर्माण सुरु
2023/02/13, 4:38
 
cc

तरकारीको पकेट क्षेत्रका रूपमा परिचित बैतडीको पाटन नगरपालिका(८ खोड्पेमा शीत भण्डार गृह निर्माण सुरु भएको छ । कुल रु तीन करोड ९७ लाख लागतमा यहाँको धारीगाउँको बेताडासैनामा शीतभण्डार निर्माण सुरु भएको हो ।

पाटन नयाँ सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर रोहितराज भण्डारीका अनुसार कैलपाल कन्सट्रक्सनले भवन निर्माणको ठेक्का पाएको  छ ।  जिल्लाको पाटन नगरपालिकाका वडा नं ८, ९ र १० लाई तरकारीको पकेट क्षेत्रको रूपमा समेत लिइएको छ । खोड्पेमा बन्न लागेको शीतभण्डारले यो क्षेत्रका किसानलाई फाइदा पुग्ने पाटन नगरपालिका९८ का वडा अध्यक्ष हरिश विष्टले बताए । 

उनले भने, “तरकारीको पकेट क्षेत्रमा शीतभण्डार बनेपछि यो क्षेत्रका किसानलाई निकै फाइदा हुन्छ, शीतभण्डारमा राख्नका लागि तरकारीलगायत अन्य उत्पादन अन्यत्र लैजाने झण्झटको अन्त्य हुन्छ । उत्पादित तरकारी लामो समयसम्म भण्डार गर्न सहज हुन्छ ।”  खोडपे आलु उत्पादनका लागि यो पकेट क्षेत्र हो ।

यहाँ उत्पादित आलु भण्डारणको व्यवस्था नहुँदा समस्या भइरहेकाले शीतभण्डार निर्माणपछि यो समस्या समाधान हुने किसानको भनाइ छ । शीतभण्डारको अभावमा अहिले यहाँका किसानलाई आलु भण्डारणका लागि डडेलधुरा लैजानुपर्ने अवस्था छ ।