धनगढीमा पनि मनाईयो विश्व रेडियो दिवस
2023/02/13, 5:03
 
radio diwas

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विश्व रेडियो दिवस मनाइएको छ । व्यवसायीक रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा रेडियो दिवस मनाइएको हो ।

बानकी प्रदेश अध्यक्ष अमिता कुँवरको अध्यक्षतामा आयोजना गरिएको औपचारिक कार्यक्रमकाबीच विश्व रेडियो दिवस मनाइएको हो ।उक्त कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम आर्थिक मामिला मन्त्री नरेश शाही र विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय रेडियो सञ्चालन व्यवस्थापनमा चुनौती थपिदै जादा रेडियोमा आश्रीत पत्रकारहरु पलायन हुन थालेको भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन थालिएको छ । नेपालमा भने विक्रम संवत् २००३ सालदेखि रेडियो नेपालको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालनमा ल्याइएको थियो । २०५२ सालदेखि एफएम प्रसारण सुरु भएको थियो ।

रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ, तर कोरोना महामारीपछि विश्वमा देखिएको आर्थिक सङ्कटको असर रेडियोमा पनि परेको छ ।