कैलालीको गौरीगंगा नगरपालिकामा मरेका गाई गोरु भेटिएका छन् । गौरीगंगा नगरपालिका–७ को सुनपाल सामुदायिक वनमा व्यवस्थापन गर्ने भन्दै राखिएका छाडा गाईगोरु मरेको भेटिएका हुन् ।
गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कडेलकाअनुसार सामुदायिक वनमा गाईगोरु मरेको भेटिए पनि संख्या भने यकिन भएको छैन । नगर क्षेत्रमा छाडा छोडिएका गाईगोरुलाई व्यवस्थापन गर्ने भन्दै नगरपालिकाको सहयोगमा तारबार गरेर स्थानीय उत्तम आउजीले जंगलमा राखेका मध्येका गाईगोरु मरेका मेयर कडेलले बताए ।
स्थानीयकाअनुसार त्यहाँ ठूलो संख्यामा गाईगोरु मरेको भेटिएका छन् । गौशाला निर्माण गर्ने भन्दै व्यवस्थापनमा लागेका आउजीले भने १५–२० वटा गाई मरेको दाबी गरे ।
उनले गाईगोरुमा फिज फाल्ने, दानापानी नखाने समस्या देखिएपछि केही दिन अघि नगरपालिकाको पशु शाखामा जानकारी गराइएको बताए । पशु शाखाले दिएको सुझावका आधारमा जुकाको औाषधी खुवाएपछि केही गाईगोरु निको भएको उनको दाबी छ ।
सोही कारण गाईगोरु मरेको हुनसक्ने उनको दाबी छ । तर स्थानीय भने व्यवस्थापनका नाममा गाईगोरु मारिएको भन्दै सामुदायिक वन क्षेत्रमा राखिएका ४०० सय गाईगोरुलाई तारबारबाट निकालिदिएका छन् ।