शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन बनाएर चाडो सञ्चालनमा ल्याउन माग (भिडियो सहित)
2023/02/13, 6:26
 
ss

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कैलालीको गेटा स्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गरेका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिम आएका उनले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गरेका हुन् । मन्त्री परिषद्को बैठकले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने  निर्णय गरेको थियो ।  

मन्त्रिपरिषद् बैठकले प्रस्ताविक गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान सम्बन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापना तथा सञ्चालन गर्नु उपयुक्त हुने निर्णय गरेको भोली पल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गरेका हुन् । अनुगमनका क्रममा सञ्चारहकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्र गतिमा काम अघि बढ्ने बताए । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भनेर क्याबिनेट राखेर सैद्धान्तिक निर्णय भएको र अब व्यवहारिक रुपले यो मेडिकल कलेज चलाउनेतिर तीव्र गतिमा अगाडि जाने प्रधानमन्त्री दाहालको  भनाई छ । 

नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा स्थापना हुने निर्णय मन्त्री परिषदबाट भएपछि स्थानीय र प्रदेशका नागरिकहरुमा खुशीको सञ्चार भएको छ । उनीहरुले आवश्यक अन्य ऐन निर्माण लगायतका कामहरु छिटोभन्दा छिटो गरेर विश्वविद्यालयलाई सञ्चालनमा ल्याउन माग गरेका छन । विद्येयक ल्याएर विश्वविद्यालयको रुपमा सञ्चालन गर्न गर्न ढिलासुस्ती गर्न नहुने संघर्ष समितिका अध्यक्ष लोकराज पाण्डेय आगोले बताए । 

कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयको अन्यौलताले गेटामा संरचना निर्माण भएपनि सञ्चालनमा ढिलाई हुने देखिएको थियो । विश्वविद्यालयको रुपमा सञ्चालन गर्ने मन्त्री परिषदको निर्णयले सञ्चालनको अन्यौलता हटेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय सम्बन्धी विधेयक तर्जुमा गर्नेछ । विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुने मेडिकल पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । 

मेडिकल कलेज पूर्वाधार निर्माण समितिको गुरुयोजना बमोजिमका कलेजका झण्डै ४२ संरचना मध्ये २८ भवन संरचना तयार भई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छ । बाँकी संरचना हस्तान्तरणको चरणमा छन् २०८० को चैतसम्म सबै संरचनाको निर्माण पूरा भइसक्ने जनाइएको छ । कलेज निर्माणमा हालसम्मको लागत पाँच अर्ब ४५ करोड रहेको छ । गेटा मेडिकल कलेज छ सय शय्याको निर्माण गर्ने लक्ष्य छ । कलेज सञ्चालनसँगै स्वास्थ्य शिक्षाका उच्चस्तरको जनशक्ति उत्पादन हुने र स्वास्थ्योपचारको सेवा प्राप्त हुने आशा राखिएको छ ।