बयानका लागि आज अरुण चौधरीलाई जिल्ला अदालत लगिने
2023/02/15, 6:57
 
Arun

निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ ।

१९ माघमा बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।
२९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो ।

उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन् ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।