मालपोत कार्यालय धनगढीमा बत्ती जाँदा सेवा ठप्प
2023/02/15, 12:01
 
ss

मालपोत कार्यालय धनगढीमा बत्ती जाँदा सेवा ठप्प हुने गरेको छ। सबैभन्दा बढी सेवाग्राही आउने धनगढी मालपोत कार्यालयमा हरेक दिन पटकपटक बत्ती जाने गरेको र सेवा नै ठप्प हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन्। कार्यालयमा बत्ती जाँदा काम गर्न वैकल्पिक व्यवस्था नहुँदा लगातर मंगलबार तीन पटक बत्ती जाँदा सेवा प्रवाहका समस्या भएको हो।

कार्यालयमा जग्गा पास गर्न लगातार तीन दिनसम्म आउँदा पनि काम नसकिँदा दैनिक खर्च भइरहेको कैलारीका भीमबहादुर तिरुवाले गुनासो गरे। उनले अस्तिदेखि दैनिक कार्यालयमा आए पनि दैनिक पटकपटक बत्ती जाँदा काम नसकिएको बताए।

गोदावरी गाउँपालिका वडा नम्बर १२ घर बताउने नरेशकुमार बडैलाले पनि मालपोतमा बत्ती जाने समस्याका कारण काम अधुरै रहेको बताए। उनले लोडसेडिङ र अन्य कुनै कारणले बत्ती नहुँदा कार्यालयमा आउने सेवाग्राहीको काम समयमै सक्न वैकल्पिक उपाय नखोजेर कार्यालय मुकदर्शक भएको गुनासो गरे। यस्तै, मङ्गालवार मात्रै तीन पटक बत्ती गएर काम गर्न नसकिएको कैलारी–६ का स्थानीय मोहन विष्टले गुनासो गरे।

वर्षमा सबैभन्दा बढी राजश्व संकलन गर्ने धनगढी मालपोत कार्यलयमा जेनेरेटर नहुँदा बत्ती जाँदा काम गर्न समस्या हुने गरेको कार्यालय प्रमुख सुरेन्द्र केसीले बताए। ’हामी सबैभन्दा बढी राजश्व उठाएर स्थानीय र प्रदेश सरकारको खातामा पठाउँछौँ तर यो संघीय सरकार अन्तर्गतको कार्यालय हो,’ उनले भने, ’कार्यालयको खर्च चलाउन सिमित बजेट केन्द्रबाट आउने गर्छ, त्यो पैसाले ६ देखि ७ लाखसम्म पर्ने जेनेरेटर खरिद गर्न सकिन्न, त्यसैले बत्ती जाँदा काम गर्न समस्या हुने गरेको छ।’

मालपोत कार्यालयबाट उठ्ने करको ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेश सरकारलाई जाने गर्छ। स्थानीय तह या प्रदेश सरकारले जेनेरेटर खरिद गर्न रकम दिए मात्रै वैकल्पिक व्यवस्था गर्न सकिने नत्र भने सेवा प्रवाह बत्ती जाँदा प्रभावित हुने मालपोत प्रमुख केसीले बताए।