करोड लगानीको बालआश्रम प्रयोगविहीन
2023/02/15, 12:03
 
ss

 असहाय र विपन्न बालबालिकालाई आवासीय शिक्षा दिने उद्देश्यले निर्माण गरिएको बालआश्रम प्रयोगविहीन भएको छ । नेपाल सरकारको एक करोड लगानीमा दुई वर्षअघि निर्माण भएको भवन सञ्चालनमा नआउँदा अलपत्र परेको छ । संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ५० लाख र संघीय सरकारकै ५० लाख विशेष अनुदान रकमबाट उक्त बालआश्रमको भवन निर्माण भएको थियो । जयपृथ्वी नगरपालिका–९ देवलमा निर्माण गरिएको आठकोठे उक्त भवनमा बालबालिकाको लागि शयन कक्ष, भान्सा, वार्डेन कक्ष, मनोरन्जन कक्षलगायत कोठा छन् । यद्यपि भवन बेवारिसे हुँदा प्रयोगमा नआउँदै जीर्ण बन्न थालेको छ । भवनका झ्यालका सिसा फुटाएका छन् । भित्ता, ढोकालगायत संरचनामा क्षति पुगेको छ । भवनको वरिपरि झाडी पलाउन थालेको छ ।

बालआश्रम सञ्चालनमा नआउँदा सरकारी लगानी अलपत्र परेको र असहाय बालबालिकासमेत सेवाबाट वञ्चित भएको स्थानीयको भनाइ छ । ‘एकातिर भवन प्रयोगमा नआउँदा सरकारी लगानी खेर गइरहेको छ । अर्कोतिर समस्यामा परेका बालबालिकाको उचित शिक्षा नपाएर भविष्य अन्धकार हुँदै छ,’ जयपृथ्वी–९ का युवा प्रविन्द्र धामीले भने, ‘हामीले बालआश्रम सञ्चालन गर्नुपर्‍यो भनेर नगरपालिकालाई लिखित र मौखिक अनुरोध पनि गरेका छौं । अहिलेसम्म सञ्चालन गर्ने कुनै तयारी छैन ।’ आफ्ना छोराछोरीलाई पालनपोषण र शिक्षादीक्षा दिन नसकेर थुप्रै अभिभावकले बालबालिकालाई तराईका जिल्ला तथा सहरी क्षेत्रमा पढाइदिने आशामा अरूको घरमा काम गर्न पठाइरहेको बताउँदै उनले बताए । बालआश्रम सञ्चालन हुन सके त्यस्ता धेरै बालबालिका लाभान्वित हुने उनको भनाइ छ ।

यो भवनमा बालआश्रम सञ्चालन गर्नका लागि गैरसरकारी संस्थाले पनि प्रयास गरेको तर नगरपालिका आफैंले सञ्चालन गर्ने भन्दै अरूको जिम्मा नदिँदा सरकारको लगानी अलपत्र हुन थालेको स्थानीयको भनाइ छ । ‘कि तपाईंहरू सञ्चालन गर्नुहोस् । नभए हामी सञ्चालन गर्छौं‚ हामीलाई दिनुहोस् भनेर नगरपालिकामा निवेदन पनि दिएका हौं । तर हामीलाई दिएनन्,’ नेपाली मन परोपकारी संस्थाका सचिव अशोक मल्लले भने, ‘न आफूले सञ्चालन गरेका छन्, न सरकारी सम्पत्तिको संरक्षण नै गरेका छन् । त्यत्रो लगानी गरेर निर्माण भएको भवन त्यसै अलपत्र परेको छ ।’ उनले नगरपालिकाले उक्त भवनको संरक्षण र बालआश्रम सञ्चालनका लागि छिटो पहल नगरे भवन नै प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्ने बताए ।

नगर कार्यपालिकाको बैठकले तीन महिनाअघि नै वडा कार्यालयको मातहतमा रहने गरी बालआश्रम सञ्चालन गर्ने निर्णय गरेको तर वडाले सक्रियता नदेखाएका कारण भवन अलपत्र परेको जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले बताए । ‘बालआश्रम सञ्चालनको लागि सञ्चालक समिती गठन गरेर काम अगाडि बढाउने जिम्मा हामीले वडालाई दिएका हौं,’ प्रमुख बजालले भने, ‘त्यसपछि पनि मैले भेटेर भनेको छु । वडाले नै सक्रियता देखाएको छैन ।’ उनले संरक्षणको अभावमा भवन जीर्ण हुन लागेको भन्दै यो विषयमा नगरपालिकाले छलफल गर्ने बताए ।