एम्बुलेन्स सेवा नै पाउँदैनन् सर्वसाधारण
2023/02/16, 12:34
 
ss

अछामको कमलबजार नगरपालिका –७ जामाकी नामसरा जैशीले गत महिना घरमै छोरालाई जन्म दिइन् । जन्मेको २ दिनपछि बच्चा अस्वस्थ भएको थाहा पाएपछि पति मीनराज जैसीका साथ जिल्ला अस्पताल मंगलसेन पुगिन् । जिल्ला अस्पतालमा २ दिनसम्म राख्दा पनि सञ्चो नभएपछि डाक्टरले राम्रो अस्पतालमा लैजान भनेर रेफर गरे । गम्भीर अवस्थाको नवजात शिशुलाई सार्वजनिक यातायातमा लैजान नसकिने भएपछि एम्बुलेन्सको खोजीमा लागे । तर उनले एम्बुलेन्स पाएनन् ।

‘डाक्टरले बच्चाको अवस्था गाह्रो छ, धनगढी या नेपालगन्ज लैजानुस् भनेपछि एम्बुलेन्स खोजी गरेँ,’ पीडा सुनाउँदै मिनराजले भने, ‘जिल्ला अस्पतालले एम्बुलेन्सको कन्डिसन ठिक छैन भन्ने जवाफ दियो । मंगलसेन नगरपालिकाले बिग्रेको छ भन्यो । जिल्लाभरिका एम्बुलेन्स खोज्दा पनि पाइएन । अन्त्यमा पञ्चदेवल विनायक नगरपालिकाको एम्बुलेन्समा धनगढी लैजाँदा डोटीको साजघाटमा मेरो छोराको मृत्यु भयो ।’

निजी गाडी रिजर्भमा लैजाँदा महँगो पर्ने र एम्बुलेन्स सेवा लिनका लागि सर्वसाधारणको पहुँच नपुगेको उनले बताए । ‘बिरामीलाई एम्बुलेन्समा लैजानका लागि ठूलै पहुँच चाहिँदो रहेछ । गाउँका हामीजस्ता सर्वसाधारणले एम्बुलेन्स प्रयोग गर्न पाउँदैनौं’ पीडा पोख्दै जैसीले भने । मंगलसेन नगरपालिका–७ का कान्तप्रसाद जैसीले पनि एम्बुलेन्स खोजेर नपाएको गुनासो गरे । एक महिनाको नातिलाई जिल्ला अस्पताल अछामले राम्रो अस्तालमा लैजान रेफर गरेपछि गत महिना उनले धेरै ठाउँमा एम्बुलेन्सको खोजी गरे । ‘एम्बुलेन्सको खोजी गर्दा कसैले गाडीको कन्डिसन ठिक छैन, कसैले हामी जान सक्दैनौं भन्छन्,’ उनले भने, ‘अन्त्यमा मंगलसेनदेखि धनगढीसम्म निजी गाडी २७ हजारमा रिजर्भ गरेर जानुपर्‍यो ।’ उनका अनुसार बिरामीलाई बोक्नका लागि एम्बुलेन्सको सेवा गाउँमा अधिकांश पहुँच नभएका सर्वसाधारणले पाउन सकेका छैनन् ।

अछामका १० स्थानीय तहमध्ये साँफेबगर, विनायक, चौरपाटी र मेल्लेखका एम्बुलेन्स सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना बताउँछन् । ‘चलिरहेका एम्बुलेन्सको अवस्था पनि गतिलो छैन, पटकपटक बिग्रने समस्या छ,’ उनले भने, ‘रामारोशन, कमलबजार, ढकारी र तुर्माखाँदमा एम्बुलेन्स नै छैन ।’ उनका अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एम्बुलेन्स सञ्चालन समन्वय समिति रहन्छ । उक्त समितिले जिल्लामा रहेका एम्बुलेन्सको अवस्था बुझ्ने, भाडा निर्धारण गरेर कार्यान्वयनका लागि प्रदेशमा सिफारिस गर्छ ।

‘जिल्लाको समितिले भाडा निर्धारण गर्ने र कार्यान्वयन गर्नका लागि प्रदेशले अनुमति दिनुपर्छ तर अहिलेसम्म प्रदेशले भाडादरको बारेमा कुनै जानकारी पठाएको छैन,’ स्वास्थ्य प्रमुख ढुंगानाले भने, ‘अहिलेसम्म व्यावहारिक रूपमा मिलाएर बिरामी लैजाने गरेका छन् । जिल्लामा रहेका एम्बुलेन्स सही तरिकाले नचलेको हामी पनि स्विकार्छौं ।’

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले ३ वर्ष अगाडि खरिद गरेका १६ एम्बुलेन्समध्ये ४ वटा एम्बुलेन्स अछामको मंगलसेन, बाब्ला, बान्नीगढी, जयगढ र कमलबजारमा दिइएको थियो । अक्सिजनसहितको सुविधा सम्पन्न भनिएका एम्बुलेन्स पहाडी भेगमा चल्न नसकेपछि बान्नीगढी र जयगढबाहेक अन्य तीनवटा एम्बुलेन्स मन्त्रालयले फिर्ता लगिसकेको छ । मन्त्रालयले पहाडमा चलाउनका लागि किनेका एम्बुलेन्स एक महिना नचल्दै ब्रेक नलाग्ने, सुस्त गति, कच्ची बाटोमा नचल्ने र चिप्लिने समस्या देखिएपछि मन्त्रालयले फिर्ता लगेको हो ।

बान्नीगढी जयगढमा भने पक्की बाटोमा प्रदेश सरकारले दिएको एम्बुलेन्स चलिरहेको स्वास्थ्य प्रमुख ढुंगानाले बताए । बान्नीगढीमा सञ्चालनमा रहेको एम्बुलेन्स प्रदेशले फिर्ता लिएको छैन । कालोपत्रे भएको बाटोमा मात्रै चलिरहेको छ । ‘ग्रामीण सडकमा भने चलाउन सकिँदैन,’ ढुंगानाले भने, ‘ती एम्बुलेन्स फिर्ता लिएपछि साँफेबगरमा भने प्रदेशले नयाँ एम्बुलेन्स पठाएको छ । कमलबजार बाहेक अन्य ठाउँमा एम्बुलेन्स खरिद प्रक्रियामा रहेको खबर पाएका छौं ।’