गठबन्धनको सहमतीअनुसार एमालेकै उम्मेदवार राष्ट्रपति चयन हुन्छः एमाले सचिव भट्ट
2023/02/16, 6:20
 
ss

नेकपा एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमतीअनुसार राष्ट्रपति चयन हुने बताएका छन् । एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टले बिहीबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनको सहमतीअनुसार एमालेकै उम्मेदवार राष्ट्रपतिमा चयन हुने बताएका हुन् । 

‘अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ रु भन्ने आम मानिसलाई चासो छ । राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमती भएको छ त्यहीअनुसार अघि बढ्छ,’ भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँछ । गठबन्धन कायम रहन्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिपतिमा राष्ट्रिय सहमती भन्नु अर्थ सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्ति भएको बताउदै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने दाबी गरे । राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको उनको भनाई थियो । सचिव भट्टले अहिले मुलुकको अर्थतन्त्र खस्किदो अवस्थामा रहेकाले उभो लगाउन अर्थ नीति सुधारको आवश्यकता रहेको बताए । 

नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको कारण सुदूरपश्चिम प्रदेश सरकार ढल्ने अवस्था आएको बताए । यथास्थितीमा नागरिक उन्मुक्ति पार्टीले साथ नदिएको अवस्थामा कांग्रेस नेतृत्वको सरकार पनि संकटमा रहेको उनको भनाई थियो । ‘रेशम चौधरीको रिहाइ उहाँहरुको शर्त थियो । मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकाले सरकारले चाहेर पनि तत्काल छुटाउन सक्ने अवस्था थिएन तर हामीले सरकारको तर्फबाट सक्दो पहल गछौँ भनेका थियौँ,’ भट्टले भने, ‘रेशम जी त्यो कुरालाई बुझ्नुभएन उहाँले तत्कालै छुटाउनुपर्छ भन्नुभयो । सर्वोच्चमा विचाराधिन मुद्दामा राजनीतिक निर्णय गर्ने प्रचलन छैन । अप्ठ्यारो हुन्छ । सोही कारण नाउपाको साथ पाइएन । हामी र माओवादीले जोगाउन सक्ने अवस्था थिएन । अहिलेको अवस्थामा नाउपाको साथ नदिए कांग्रेसको सरकार पनि जोगिदैन् ।’