भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा योजनाहरू सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । आयोजना अलपत्र पर्दा सरकार टुलुटुलु हेरेर नबस्ने उनले प्रष्ट पारे । चेम्बर अफ कमर्सले बिहीवार डोटीमा आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै उनले टेण्डर भएर समयमै काम सम्पन्न नभएका अधुरा आयोजनाहरूको काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
“टेण्डर बिट गर्ने, काम गरेजस्तो मात्रै गर्ने, वर्षौंसम्म राज्य र जनतालाई नोक्सानी गर्ने ठेकेदार र कम्पनीलाई छुट दिन नसकिने उनले बताए । विश्वसनीय ढङ्गबाट सम्झौता अनुरूपको काम हुन्छ भने मात्रै म्याद थप गरेर काम गर्न अनुमति दिने उनले बताए । “निर्माण कम्पनीलाई हामीले तुरुन्तै काम गर्न निर्देशन दिएका छौँ, “उनले भने, “समयमै सम्झौताअनुरूपको काम गर्ने अवस्था रहेन भने ठेक्का रद्द गरेर नयाँ ढङ्गबाट आयोजनाको काम अगाडि बढाउँछौँ । निर्माण कम्पनीले आयोजना अलपत्र पारेको टुलुटुलु हेर्न सकिँदैन ।”
डोटीका राजनीतिक दलहरूले उपप्रधानमन्त्री श्रेष्ठसँग धनगढी – खुटिया – दिपायल द्रुत मार्गसँगै अधुरा योजनाहरू समयमै सम्पन्न गरिनु पर्ने माग राखे । उपप्रधानमन्त्री श्रेष्ठले धनगढी – खुटिया–दिपायल द्रुतमार्गको कामलाई पूर्णता दिन आवश्यक पहल गरिने उनले बताए ।
तीन तहका सरकारसँगको समन्वयमा आयोजनाको प्राथमिकरण निर्धारण गरेर स्रोतसाधनको सीमाभित्र रही विकास निर्माणका काम अगाडि बढाउने प्रतिबद्धता उनले गरे। सेती लोकमार्ग निर्माण र पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जको विकासका लागि समेत गम्भीर रहेको उनले बताए ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति
उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने धारणा राखे । प्रधानमन्त्रीले पाएको विश्वासको मतलाई समेत सम्बोधन हुनेगरी राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गरिनुपर्छ, “उनले भने, “प्रधानमन्त्री जस्तै राष्ट्रपतिका लागि पनि राष्ट्रिय सहमति भयो भने मुलुकको राजनीति र राष्ट्रिय एकता ठीक ढङ्गबाट अगाडि बढ्छ ।” सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे राजनीतिकदल बीच छलफल भइरहेको उनको भनाइ छ ।